स्वास्थ्य मन्त्रालयले भन्यो: पीसीआर परीक्षण बढाउन पर्दैन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

स्वास्थ्य मन्त्रालयले भन्यो: पीसीआर परीक्षण बढाउन पर्दैन



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यारेन्टिनमा बस्नेहरुको संख्या घट्दै गएकाले पीसीआर परीक्षणको दायरा नबढेको जनाएको छ ।

संक्रमितको संख्या बढेसँगै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १० गतेसम्म प्रतिदिन १० हजार व्यक्तिको पीसीआर परीक्षण गर्ने जनाएका थिए ।

तर, मन्त्रालयले हाल क्वारेन्टिनमा बस्नेहरुको संख्या घट्दै गएका कारण प्रतिदिन १० हजारको परीक्षण गराउनु नपर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिला क्वारेन्टिनमा बस्ने व्यक्तिको संख्या डेढ लाख माथी हुँदा १० हजारको परीक्षण गर्ने निर्णय भएपनि हाल क्वारेन्टिनमा बस्नेको संख्या घट्दै आएका कारण परीक्षण नबढेको जानकारी दिए ।

संक्रमितको संख्या बढ्दै गए पनि संक्रमणको दर नबढेको भन्दै प्रवक्ता डा. गौतमले क्वारेन्टिनमा बस्नेको संख्या बढेसँगै परीक्षण बढाउने बताए ।

तर मन्त्रालयले १४ दिन क्वारेन्टिनमा राखी आरडीटी परीक्षण मात्र गरी घर पठाउने गरेको छ । जसमा डा. गौतमले १४ दिन क्वारेन्टिनमा बसेका व्यक्तिको पीसीआर परीक्षण गराउनु नै नपर्ने र उनिहरुमा कोरोना संक्रमण भएको भए पनि अरुमा सार्ने क्षमता कम हुने बताए ।

पीसीआर परीक्षण प्रतिदिन झण्डै ५ हजार व्यक्तिको मात्र हुँदै आएको छ । जसमा संक्रमितको सख्या पनि प्रतिदिन ५ सयका दरले देखिन थालेको छ । सरकारले संक्रमितको संख्या १३ हजार माथि हुँदा समेत पीसीआर परीक्षण बढाउन नसकेको हो ।

नेपालमा हालसम्म २ लाख भन्दा बढी व्यक्तिको पीसीआर परीक्षण भएको छ ।