संचारगृहमै पत्रकारमाथि कुटपिट, कारबाही गर्न चौतर्फी माग

कैलाली – कैलालीको धनगढीमा रहेको दिनेश संचार गृहमा छिरेर पत्रकारमाथि आक्रमण भएको छ । धनगढीका १५/२० जना युवाको समूहले सञ्चार गृहभित्र छिरेर पत्रकारमाथि हातपात गरेका छन् ।
‘धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ शीर्षकको समाचारलाई लिएर पत्रकारलाई उक्त समाचार हटाउन दबाब दिँदै दिनेश खबरका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका त्यहाँ कार्यरत पत्रकार कमल साउँदले जानकारी दिए।
घटनाको नेपाल पत्रकार महासंघ कैलाली लगायत विभिन्न संघसंस्थाले घोर आपति जनाएका छन् । पत्रकार महासंघ कैलालीले सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि भएको आक्रमणको घटनाप्रति घोर निन्दा गरेको हो ।
महासंघले विज्ञप्ति जारी गर्दै घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं सिङ्गो पत्रकारिता क्षेत्रमाथिको आक्रमणको घटनाका रुपमा लिएको जनाएको छ ।
‘समाचारको विषयमा कुनै विमति भए त्यसको समाधानका लागि कानुनी बाटो हुँदाहुँदै एकाएक सञ्चार गृहमा तथा पत्रकारमाथि आक्रमण गरिनुले पछिल्लो समय आम पत्रकारले असुरक्षित महसुस गर्नुपरेको महासंघको बुझाइ छ, ‘ महासंघका सचिव मीन ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम् प्रदेश समिती , नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखा, थारु पत्रकार संघ लगायत जिल्लाका विभिन्न प्रेससँग आवद्ध संघ संस्थाले घोर निन्दा गरेका छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका थिए ।




