ग्रामीण क्षेत्रमा विकराल बन्दै पाठेघरको समस्या
गुल्मी । आङ खस्ने समस्याले पीडित इस्मा गाउँपालिका ४ की काली दर्जी उमेरले ६५ वर्षकी भइन् । लामो समयदेखि पाठेघरको समस्या भए पनि लाज मानेर कसैलाई बताइनन् ।
उनी अहिलेसम्म आफ्नो समस्या बताउन अस्पतालसमेत पुगेकी छैनन् । उनले जन्माएका तीन छोरीको बिह भैसक्यो । छोरा छैनन् । घरमा बिरामी श्रीमान्, छोरीतिरका नातिनी र उनी मात्र छन् । इस्मा गाउँपालिकामा आङ खस्ने महिलाहरूको निःशुल्क स्वास्थ्य शिविर बसेपछि मात्र उनको त्यो समस्या बाहिर आयो । शिविर बस्ने भएपछि सोही स्थानकी स्वयंसेविका कमला बस्नेतले गाउँमा खबर गर्दै जाँदा कालीको घर पुगिन् । स्वयंसेविका कमलाको खबर सुनेपछि पीडित दर्जीले आफ्नो समस्या बल्ल सुनाइन् । चिकित्सकले उनको पाठेघरमा रिङ्ग प्रेसरी लगाए । जसका कारण उनको आठ÷नौ वर्षसम्मको पीडा कम भएको छ । शिविरमा आएका सुझाव र सल्लाहपछि कालीले स्वयंसेविका र स्वास्थ्यकर्मीलाई धन्यबाद समेत दिइन् । ‘म काम गरेर खाने मान्छे, मेरो दुख बुढोले सुनेन,’ आँसु झार्दै उनले भनिन्, ‘बाँच्नका लागि समस्या च्यापेरै मेलापात गरेँ ।’ उनले निःशुल्क उपचार नभएर धेरै पैसा लाग्ने ठानेर पनि समस्याका बारेमा धेरैलाई नभन्ने गरेको बताइन् ।
अशिक्षित तथा दलित समुदाय भएकाले आङ खस्ने समस्या भएका महिला धेरै हुन सक्ने भए पनि लाजका कारण कोही खुल्न नसक्ने स्वास्थ्य स्वयंसेविका कमला बस्नेतले बताइन् । सोही वडाकै हुमकला कुँवर पनि आङ खस्ने समस्याले थला परेकी छन् । उनलाई यो समस्याले वर्षौं पिरोल्यो । तर अस्पताल पुग्न र समस्या अरूलाई भन्न नसकेर उनी घरमै थिइन् । हुमकला पनि गाउँमै संचालन भएको क्याम्पसम्म श्रीमानसँगै बल्ल तल्ल आइपुगिन् । धेरैको सुझाव सल्लाह दिएपछि चिकित्सकहरूले कुवंरको पाठेघरमा रिङ्ग प्रेसरी राखिदिए । इस्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्र भुसालका अनुसार यो समस्या विपन्न र निरक्षर समुदायमा बढी छ । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना तथा इस्मा गाउँपालिकाको व्यावस्थापनमा (अब्स्ट्रेटिक फिस्टुला) अर्थात पाठेघर खसेका महिलाहरूलाइ रिङ्ग प्रेसरी लगाउने तथा पाठेघरको मुखको क्यान्सरको जाँच सम्बन्धि शिविर शुक्रबार सम्पन्न भएको थियो ।
त्यस्तै रेसुंगा नगरपालिका २ को बलिथुममा शनिबार भएको शिविरमा ९२ जनाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमा तीन जना महिलाले रिङ्ग प्रेसरी लगाएका थिए । जिल्लाको विपन्न र विकटका महिलाहरूमा समस्या छ । जनचेतना अभाव छ । गाउँमा रोग पालेर बस्न बाध्य छन् । जनचेता अभावकै कारण तीन÷तीन महिनामा फेर्नु पर्ने रिङ्ग चार÷पाँच वर्षसम्म नफेरेर पाठेघर भित्रै सडेको अवस्थाका आमाहरूसमेत क्याम्पमा आएको जिल्ला जनस्वास्थ्य कार्यालयको पब्लिक हेल्थ नर्स सुमन शर्माले बताइन् । आर्थिक अभावका कारण गाउँमा यस्ता शिविरहरू बिरलै मात्र हुने तथा उपचार निशुल्क हुन्छ भन्ने जानकारी नभएका कारण गाउँमा यो समस्या विकराल रहेको शर्माले बताइन् ।
ग्रामीण क्षेत्रका महिलामा चेतना अभावले आङ खस्ने समस्या बढ्दै गएको छ । शिविरमा सहभागी रिडी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर दिवस सापकोटाका अनुसार धेरै बच्चा जन्माउने, घरमै सुत्केरी हुने, भारी बोक्ने कारणले पाठेघर खस्ने समस्या हुने बताए । गाउँमा पाठेघरको समस्या भएका आमा दिदीबहिनीहरू धेरै भएकाले चेतनामूलक कार्यक्रमललाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको उनको भनाई छ । ‘गाउँको एउटा क्याम्पमा मात्र्र दुई÷तीन सय जना महिलाले समस्या लिएर आउनु सानो कुरा होइन,’उनले भने, ‘प्रत्येक स्थानीय तहमा यसको अपरिहार्यता छ ।’ धेरै महिलाहरूले अप्ठेरो मानेर रोग लुकाउने गरेका छन् । यस्ता रोगी शिविरमा कम आउँछन । तर पहिलेको तुलनामा भन्दा महिलाको संख्या शिविरमा बढ्दै गएको उनले बताए ।