प्रजातन्त्र दिवसमा नेताले नै पशुपतिको गीत गएपछि... - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रजातन्त्र दिवसमा नेताले नै पशुपतिको गीत गएपछि…



राजविराज– भ्रष्टाचारका कारण मुलुक खोक्रो भएको र जनताले सास्ती खेप्नुपरेको भन्दै सप्तरीका राजनीतिक दलका नेता/कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन्।

६९औं प्रजातन्त्र दिवसका अवसरमा मंगलबार राजविराजमा आयोजित कार्यक्रमका सहभागीहरुले भ्रष्टाचारकै कारण जनताले प्रजातन्त्रको अनुभूति गर्न नसकेको बताए।

‘नागरिक स्तरबाट नकारात्मक प्रतिक्रिया आउनुभन्दा पहिला नै यसको निरुपण खोज्नुपर्छ,’ संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवले भने, ‘लोकतन्त्र र प्रजातन्त्र भनेकै भ्रष्टाचार गर्नका लागि हो भन्ने छाप नपरोस्।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नै भ्रष्टाचारमा मुछिनु दुर्भाग्यपूर्ण भएको यादवले बताए।

गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट। अरु देशमा पाइँदैन, नेपालमै हो छुट’ बोलको गीत गुनगुनाउँदै उनले मुलुकको समृद्धिका लागि भ्रष्टाचारको अन्त्य हुनुपर्ने र त्यसका लागि पहिला राजनीतिक नेतृत्व नै सुध्रिनुपर्ने बताए।

जिल्ला समन्वय समितिका संयोजक तथा कार्यक्रममा ६९औं प्रजातन्त्र दिवस जिल्ला मूल समारोह समितिका अध्यक्ष प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपाका महासचिव तथा प्रदेशसभा सदस्य मनिष सुमन, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश यादव लगायतले पनि भ्रष्टाचार मुलुककै शत्रु भएको भन्दै त्यसको नियन्त्रणका लागि पहल सुरु गर्नुपर्ने बताए।