सोमबारबाट खुल्दै पशुपतिनाथ मन्दिर
काठमाडौँ- कोरोना महामारीका कारण बन्द गरिएको पशुपतिनाथको मन्दिर खुलाउने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । यही साउन दोस्रो सोमबारबाट दर्शन खुला गर्नेगरी तयारी भैरहेको बताइएको छ ।
हिन्दु धर्मावलम्बीका निम्ति साउनभरि व्रत बस्ने र सोमबार महादेवको दर्शन गर्ने परम्परा रहेको हुनाले भौतिक र सामाजिक दुरी कायम गरी दर्शन खुलाउने तयारी भैरहेको हो । श्रद्धालु भक्तजनलाई दर्शनका निम्ति आवश्यक प्रोटोकल निर्माण गरी तयारी अवस्थामा रहेको जनाइएको छ ।
कोषले मन्दिरको बाहिरी ढोकादेखि भित्रको मुख्य मन्दिरसम्म जाने र फर्किने अलग अलग र्याम्प विस्तार गरेको छ । भक्तजनलाई फूल प्रसाद नलिई भौतिक दूरी कायम गर्दै मूल मन्दिरको र्याम्पबाट दर्शन गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ । मन्दिर बाहिर केही ठाउँमा हात धुने ठाउँ र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।