पशुपतिनाथ मन्दिरमा भेटियो ९ किलो सुन - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

पशुपतिनाथ मन्दिरमा भेटियो ९ किलो सुन



काठमाडौं : पशुपतिनाथ मन्दिरमा नौ किलो सुन भेटिएको छ । २०१९ सालदेखि २०७५ सालसम्ममा भक्तजनले चढाएको सुन नौ किलो २७६.६४ ग्राम पुगेको हो। श्रीपशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समितिको प्रतिवेदनले नौ किलो २७६.६४ ग्राम सुनसँगै तीन सय १६ किलो ५८६ ग्राम चाँदी रहेको खोजी गरेको हो।

पशुपति क्षेत्र विकास कोषले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो। समितिका संयोजक एवं कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले श्रीपशुपतिनाथको मूल ढुकुटीमा रहेको अभिलेखलाई आधार बनाएर खोजी गर्दा नौ किलो सुन र तीन सय १६ किलो चाँदी पशुपतिनाथको नाममा रहेको जायजेथा फेला परेको जानकारी दिए।

थापाका अनुसार, पशुपतिनाथ भण्डार तहविलबाट प्राप्त तायदाती मुचुल्का अनुसार २०१९ देखि २०६८ सालसम्म आठ किलो २३२ ग्राम सुन र एक सय ७५ किलो ४५८ ग्राम चाँदी मुल ढुकुटीमा दाखिला भएको देखिएको थियो।

प्रतिवेदनमा २०६८ चैतमा पशुपति क्षेत्र विकास कोष ऐन र नियमावली आएपछि सुन र चाँदी थपिएको देखिएको छ। जसअनुसार, २०५९ देखि २०७५ सम्म कोषको सम्पत्ति संरक्षण महाशाखाबाट प्राप्त विवरणमा एक हजार ४४.६४ ग्राम सुन र एक लाख ४१ हजार एक सय २८.७५ ग्राम चाँदी थपिएको हो।