पशुपति शर्मालाई कांग्रेस सांसदको २५ हजार पुरस्कार ! - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

पशुपति शर्मालाई कांग्रेस सांसदको २५ हजार पुरस्कार !



काठमाडौं । लोकगायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ बारे विवाद आइरहँदा काँग्रेस सांसद अमरेशकुमार सिंहले २५ हजार पुरस्कार दिने घोषणा गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेता सिंहले देशमा भ्रष्टाचारको बेथिति मौलाइरहेको विषयमा जनताको बोली बोलेको भन्दै शर्मालाई फागुन महिनाको तलवबाट २५ हजार पुरस्कार दिने घोषणा गरेका हुन् ।

पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतमाथि सत्तारुढ नेकपाका कार्यकर्ताले विरोध गरिरहेकोप्रति लक्षित गर्दै सांसद सिंहले पुरस्कार घोषणा गरे ।

‘त्यस्ता जनबोली गाउने गायकलाई म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गर्न चाहुन्छु’ उनले भने, ‘दुईतिहाई सरकारका अगाडि त्यस्तो गीत गाउन पाइन्छ, जनताको भावना व्यक्त गर्न पाइन्छ ? त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ, सुन्नेलाई कानमा मर्करी या सीसा पगालेर राख्नुपर्छ सरकारको यस्तो बुझाइले लोकतन्त्र कहाँ हो ?’

दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि आरोप लगाए । उनले सरकारले वुद्धिजीवि र कलाकारको भावनालाई सम्मान गर्न सक्नुपर्ने पनि बताए ।