पर्यटन मन्त्रालय प्रधानमन्त्री ओलीले आफैले चलाउने !
हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको उत्तराधिकारी तत्काल नखोज्ने मुडमा प्रधानमन्त्री शर्मा ओली देखिएका छन्।
ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परी १५ फागुनमा पर्यटनमन्त्री अधिकारीको निधन भएको थियो।
मन्त्री अधिकारीको निधन भएको एक महिना बितिसकेको छ, रिक्त सो जिम्मेवारीका लागि एक से एक आकांक्षीहरु नेकपाभित्र छन्।
मन्त्री अधिकारीको निधनपछि रिक्त मन्त्रालयमा कसले जिम्मेवारी पाउने हो भन्ने चासो नेकपाभित्र छँदैछ, मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चापनि बेला–बेला हुने गरेको छ।
दशैँ लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चा चल्न थालेपनि ६ महिना बितिसक्दा नभएपछि त्यो चर्चा केवल हल्लामात्र थियो भन्ने पुष्टि भइसकेको छ।
तर, मन्त्री अधिकारीको निधनका कारण रिक्त रहेको मन्त्रालयले राजनीतिक नेतृत्व पाउन पनि अझै केही समय कुर्नु पर्ने भएको छ।
स्रोतका भनाईमा, प्रधामन्त्री केपी शर्मा ओली सो मन्त्रालयमा तत्काल नयाँ मन्त्री नियुक्त गर्ने भन्दा केही समय आफै यो मन्त्रालय आफैसँग राख्ने योजनामा छन्।
केही बर्षअघिसम्म प्रधानमन्त्रीसँग केही महत्वपूर्ण मन्त्रालयहरु रहने गरेकोमा गणतन्त्रको स्थापना पछि प्रधानमन्त्रीले छुट्टै कुनै मन्त्रालय राख्ने गरेका छैनन्।
राजतन्त्र कायम रहेका बेलाचाहिँ अक्सर राजदरवार मामिला र रक्षा मन्त्रालय प्रधानमन्त्रीको मातहत राखिने गरिएको थियो।
यदाकदा रक्षा मन्त्रालयले छुट्टै राजनीतिक नेतृत्व पाउने गरेपनि राजदरवार मामिला सम्बन्धी मन्त्रालय भने २००७ देखि ०६३ सम्म प्रधामन्त्री मातहत नै रह्यो।
गणतन्त्रको स्थापनापछि दरवार नै नरहेकाले राजदरवार मामिला सम्बन्धी मन्त्रालय खारेजीमा परेकाले प्रधानमन्त्री मातहत त्यो रहने कुरै भएन।
गणतन्त्र यता अक्सर संयुक्त सरकार निर्माण भएकाले ‘पावर मिनिष्ट्री’ का रुपमा राखिएको रक्षा मन्त्रालय पनि भागबण्डामा पर्न थाल्यो र त्यसका लागि छुट्टै मन्त्री नियुक्त हुन थाले।
यसरी लामो समय प्रधानमन्त्रीसँग छुट्टै मन्त्रालय नरहेको स्थितिमा प्रम ओलीले चाहिँ अझै केही समय यो मन्त्रालय आफैसँग राख्ने योजना बनाएका छन्।