प्रतीक्षालय निर्माणमा जुटे स्थानीय - Himal Post Himal Post
  • १० फाल्गुन २०८१, शनिबार
  •      Sat Feb 22 2025
Logo

प्रतीक्षालय निर्माणमा जुटे स्थानीय



कैलाली – कैलालीको घोडाघोडी नगरपालिका -१ सुखड चोकमा स्थानीयहरुको सहयोगमा प्रतीक्षालय निर्माण हुने भएको छ । घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरीले शुक्रबार एक अनौपचारिक कार्यक्रमका बिच प्रतीक्षालयको शिलान्यास गरेका हुन् ।

पुर्व पश्चिम् राजमार्गको छेउमै रहेको मदन आश्रय यात्रु प्रतीक्षालय सडकमै पर्ने हुँदा स्थानीयको सहयोगमा अर्को ठाउँ बनाउन लागिएको मदन आश्रय यात्रु प्रतीक्षालय निर्माण समितीका अध्यक्ष दुर्गा प्रसाद गौतमले जानकारी दिए ।

लामो तथा छोटो दुरिमा यात्रा गर्ने यात्रुहरुलाई विश्राम गर्नको सहज होस् भन्ने हेतुले स्थानीय दाताहरुको सहयोग अनुसार प्रतीक्षालय निर्माण गर्न लागिएको मदन आश्रय यात्रु प्रतीक्षालय निर्माण उप समितिको सचीव हेमराज सापकोटाले जानकारी दिए । उनले पुरानो प्रतीक्षालय राजमार्गमा परेको हुँदा राजमार्गको एरिया छोडेर नयाँ प्रतीक्षालय बनाउन लागिएको बताए । यात्रुको सहजताका लागी रकम उठ्यो भने प्रतीक्षालयसंगै शौचालय बनाउने योजनामा रहेको समेत सापकोटाले बताए । दाताहरुको सहयोग अनुसारको प्रतीक्षालय निर्माण गरिने मदन आश्रय यात्रु प्रतीक्षालय निर्माण उप समितिका कोषाध्यक्ष गणेश सुनारले जानकारी दिए । उनले प्रतीक्षालय निर्माणको लागि हालसम्म करिब २ लाख पचास हजार रकम संकलन गरिएको बताए ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले यात्रुहरुलाई बस्नको लागि प्रतीक्षालाय निर्माण गर्न लागिएकोमा सहयोगी दाताहरु,समाजसेवी ,राजनैतिकदल तथा स्थानीयहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।