पार्टीको केन्द्रीय समिति बैठक तत्काल नबोलाए आफ्नै हिसाबमा पार्टी रुपान्तरण थाल्ने पौडेलको चेतावनी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

पार्टीको केन्द्रीय समिति बैठक तत्काल नबोलाए आफ्नै हिसाबमा पार्टी रुपान्तरण थाल्ने पौडेलको चेतावनी



काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीको केन्द्रीय समिति बैठक तत्काल नबोलाए आफ्नै हिसाबमा पार्टी रुपान्तरण थाल्ने चेतावनी दिएका छन्।

सोमबार बिहान नेता पौडेल र महामन्त्री शशांक कोइरालाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग यस्तो माग गरेका हुन्। भेटमा कृष्ण सिटौला र विमलेन्द्र निधि समेत सहभागी थिए। प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस कमजोर देखिएपछि युवा नेताहरुले पार्टीको रुपान्तरण गर्नुपर्ने आवाज उठाइरहेका बेला पौडेल र कोइरालाले यस्तो माग गरेका छन्।

उनीहरुले पार्टी केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गर्दै विधि र विधान विपरीत गठन भएका संसदीय समिति र कार्यसम्पादन समिति विघटन गर्न समेत माग गरे।

पौडेलले संकटमा रहेको पार्टीलाई नवजीवन दिनका लागि भेला बोलाउन सभापति देउवालाई आग्रह गरे। जवाफमा देउवाले सल्लाह गरेर बैठक बोलाउने तयारीमा रहेको बताएका छन्। देउवाले पार्टीलाई सुदृढ गर्दै अघि बढाउनुको विकल्प नभएको आफूले महसुस गरेको भन्दै पौडेल पक्षलाई आश्वस्त पारेका थिए।

यसअघि गत साता नेता पौडेल निकट केन्द्रीय सदस्यहरुले छुट्टै भेला गरेका थिए। भेलाले प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवालाई आग्रह गर्दै भेटेर कुरा गर्ने जिम्मा पौडेललाई दिएको थियो।

भेलाले सभापति देउवाले बैठक बोलाउन ढिलाइ गरे हस्ताक्षर अभियान चलाउने निष्कर्ष समेत निकालेको थियो। उनीहरुले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको टुंगो केन्द्रीय समितिबाटै लगाउनुपर्ने माग गरेका थिए।