पार्टी एकतापछि जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिनुपर्ने माग - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

पार्टी एकतापछि जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिनुपर्ने माग



काठमाडौं । १० वर्षे जनयुद्धका क्रममा शहीद भएका परिवारका सदस्यले जनयुद्धका शहीद र परिवारका सदस्यको भूमिका र अस्तित्वबारे ध्यानाकर्षण गराएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकताको सँघारमा उनीहरुले पार्टी एकतापछि शहीदको बलिदानीलाई अवमूल्यान हुने डर आफूहरुलाई लागेको बताए ।

जनयुद्धका शहीद परिवार समाज नेपालले बुधबार राजधानीको संवाद डबलीमा पहिलो चरणको छलफल तथा अन्तक्र्रिया गरेको छ । माओवादी केन्द्र निकट समाजको ६ नम्बर प्रदेशले आयोजना गरेको छलफलमा शहीद परिवारहरुले पार्टी एकतापछि जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिनुपर्ने, बलिदानीको मूल्यांकन र अस्तित्वबारे धारणा राखेका थिए ।

सहिद परिवार समाजका ६ नम्बर प्रदेशका संयोजक कर्णजीत बुढाथोकी ‘सुशील’ले नेकपा एमालेले नेतृत्वले कस्तो व्यवहार गर्छ भन्ने सहिद परिवारलाई चिन्ता लागेको बताए ।

“हिजो त हाम्रो सरोकार माओवादीसँग मात्रै थियो, अब पार्टी एकता हुँदैछ । एमाले नेतृत्वले कस्तो व्यवहार गर्छ त्यसले एकीकृत पार्टीको नीति बन्ने भएकोले छलफल सुरु गरेका हौँ” शुसिलले भने । उनले एकता हुनुपूर्व जनयुद्धका सहिद परिवारप्रति पार्टी नीति प्रष्ट हुनुपर्ने धारणा राखेका थिए ।

“हाम्रो बलिदानीलाई कसैले खोस्न सक्दैन, पार्टी एकता हुनपूर्व सहिद परिवारबारे प्रष्ट नीति चाहिन्छ” छलफलमा बोल्दै सुशिलले भने । माओवादीहरुबीच एकता नभएर एमालेसँग पार्टी एकता हुन लागेको कारण जनयुद्धका सहिदहरुलाई हेर्ने एमालेको दृष्टिकोण प्रष्ट हुनुपर्ने बताए ।

जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिनुपर्ने, परिवारको अभिभावक राज्य हुनुपर्ने भेलामा सहभागी सहिद परिवारले धारणा राखेका थिए ।

आजको भेला तथा छलफलले आउँदो साता ६ नम्बर प्रदेशको भेला बोलाउने र देशभरीका सहिद परिवारको राष्ट्रिय कार्यक्रमको पहल गर्ने निर्णय गरेको छ ।