संकटमा नेकपा: प्रदेश-२ मा पार्टी नै दुई चिरा - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

संकटमा नेकपा: प्रदेश-२ मा पार्टी नै दुई चिरा



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र शिर्ष नेतृत्वमा विवाद बल्झिएकै बेला नेकपा प्रदेश–२ मा पनि पार्टीभित्र संकट देखिएको छ । प्रदेश–२ मा यसअघि नै चर्किएको गुटबन्दीकै कारण घटेको घटनाले पार्टी नै दुई फ्याक भएको छ।

पार्टीभित्रै लामो समयको चरम गुटबन्दीकै कारण पर्सा बिन्दबासिनीमा भएको झडपमा पार्टी कार्यकर्ता मुकेश चौरसियाको मृत्यु भैसकेको छ । चौरासियाको घटनाले प्रदेश २ मा नेकपा विवाद ध्रुवीकृत भएको हो ।

कर्णालीमा मुख्यमन्त्रीविरुद्ध पार्टीभित्रैबाट अविश्वास प्रस्तावले जन्मिएको विवाद थाती रहँदा प्रदेश २ मा देखिएको यो दृश्यले पार्टीभित्र माथिदेखि तलसम्म पार्टी २ चिरा भैसकेको देखाउँछ ।

६ कात्तिकमा बिन्दबासिनी गाउँपालिका कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच झडप हुँदा चौरसियाको उपचार क्रममा न्युरो अस्पताल वीरगन्जमा मृत्यु भयो भने अन्य आठजना घाइते भए । मृतक चौरसिया जिल्ला कमिटी सदस्य तथा गाउँपालिका कमिटी सचिव हुन् ।

घटनापछि मृतकको परिवारले तत्कालीन संविधानसभा सदस्य तथा नेकपा पर्सा जिल्ला कमिटी सदस्य राजकुमार गुप्तालाई मुख्य योजनाकार बनाएर १२ जनाविरुद्ध किटानी जाहेरी दिने प्रयास गर्‍यो । तर, जिल्ला प्रहरी कार्यालय, पर्साले जाहेरी दर्ता गरेन, जसकारण नेकपाभित्र दुई समूहको अन्तरविरोध झन् चर्किएको छ । जाहेरी दर्ता नभएसम्म परिवारले चौरसियाको शव बुझ्न मानेको छैन ।

घटनामा राजनीतिक दाउपेच धेरै भएको छ । घटनापछि प्रचण्ड–नेपाल समूहले राज्यसत्ताको दुरुपयोग गरेर हत्यारालाई जोगाउन खोजेको आरोप लगाएको छ । र, दोषीमाथि कडा कारबाही माग गर्दै आएको छ । ओली समूहले घटनास्थलमै नभएका तत्कालीन संविधानसभा सदस्य गुप्तालाई योजनाबद्ध रूपमा फसाउन खोजिएको आरोप लगाएको छ ।

पार्टी जिल्ला नेतृत्वलाई जानकारी नै नदिई आफ्नो समूहलाई बाइपास गर्दै शपथग्रहण कार्यक्रम गराउने प्रदेश सह–इन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र शाह तेलीलगायत व्यक्ति झडपको दोषी भएको बताउँदै ओली समूहले घटनालाई प्रतिशोधको माध्यम बनाउन खोजेको आरोप लगाएको छ ।

दुई समूहबीच आरोप–प्रत्यारोप चलिरहँदा मृतक परिवारले राहत महसुस गर्ने गरी प्रहरीले दोषीलाई पक्राउ गरी कारबाही अगाडि नबढाउँदा पर्सा घटनाले नेकपाको शीर्ष तहमै विवाद र तिक्तता बढाएको छ ।

अध्यक्ष प्रचण्डले ९ कात्तिक र वरिष्ठ नेता नेपालले ७ कात्तिकमा छुट्टाछुट्टै विज्ञप्तिमार्फत दोषीमाथि तत्काल कारबाही माग गरेका छन् । ‘शपथग्रहणमा केही अवाञ्छित तत्वको आक्रमणमा परी पार्टी जिल्ला सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको कुरा सर्वविदितै छ । पार्टी जिल्ला इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै चौरसियालाई सहिद घोषणा तथा हत्यारालाई कडा कारबाही माग गर्दै वक्तव्य जारी भएको पनि विदितै छ,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ, ‘म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्छु ।’

यस्तै, नेपालले सम्बन्धित निकायले हत्याजस्तो जघन्य अपराधको मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय भएको उल्लेख गरेका छन् । ‘हत्याजस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गर्छु,’ नेपालको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा पर्साका नेताबीच आन्तरिक विवादका कारण केही सातायता अलग–अलग शपथग्रहण कार्यक्रम हुँदै आएका थिए । आमन्त्रित केन्द्रीय सदस्य निर्मला देवकोटा, प्रदेश सह–इन्चार्ज विजय महतो र केन्द्रीय सदस्य उर्मिला अर्याललगायत नेता गाउँपालिका कमिटीका कार्यक्रममा प्रमुख अतिथि बन्ने गरेका थिए ।