पार्टी छाडेर जाने राणा नेतृत्वको समूहले गरे जघन्य अपराध :थापा - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

पार्टी छाडेर जाने राणा नेतृत्वको समूहले गरे जघन्य अपराध :थापा



२० भदौ, झापा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी छाडेर जाने पशुपति शमशेर राणा नेतृत्वको समूहले जघन्य अपराध गरेको आरोप लगाएका छन् ।

संसद र प्रदेशको चुनाव आउन ३ महिना मात्र बाँकी रहेको वेला पार्टी विभाजन गराएर लाखौं कार्यकर्ता र पार्टीको एजेण्डाप्रति जघन्य अपराध गरेको उनको भनाइ छ ।

मंगलबार झापाको बिर्तामोडमा आयोजित पूर्वाञ्चल स्तरीय स्थानीय तह अध्यक्षहरुको पूर्वाञ्चल क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने, ‘राप्रपाको विभाजन बलियो राष्ट्रवादी पार्टी निर्माण हुन नदिने र नेपाललाई कहिल्यै हिन्दु राष्ट्र बन्न नदिनेहरुको डिजाइनबाट भएको हो ।’

पशुपति शमशेर हिन्दु राष्ट्र विरोधीहरुको डिजाइनको मोहरा बनेको उनले टिप्पणी गरे ।

‘तर, यसबाट हामीले कत्ति पनि विचलित हुनु पर्ने जरुरी छैन’, उनले कार्यकर्तालाई लक्षित गर्दै भने, ‘यो विपत्ति केही क्षणमा नै टरेर जान्छ । यो घडीमा एकता, आत्मियता र सदभाव अनिवार्य छ ।’

अर्को प्रसंगमा उनले राप्रपा आफ्नो एजेण्डाबाट कहिल्यै पनि विचलित नभएको बताए । ‘जबसम्म सूर्य र चन्द्र रहन्छ, तबसम्म हामीमा हिन्दु राष्ट्रको मान्यता कहिल्यै पनि समाप्त हुँदैन’, उनले भने ।

अर्को प्रसंगमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरेको जग्गाको अनियमितताको विषयमा सरकार नबोलेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

‘कारबाही गर्नु पर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि कारबाही अघि बढाउँदैन’, उनले अर्को प्रसङ्गलाई पनि जोडे, ‘केही समयअघि भएको अर्बौं रुपैयाँ बराबरको कर छलिमा पनि सरकार बोलेन ।’

राप्रपा महामन्त्री भन्छन्– झापाबाटै खाता खोल्छौं

झापामा राप्रपालाई तेस्रो ठूलो शक्ति बनाउन भूमिका खेलेका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले प्रदेशको चुनावमा पनि झापाबाट खाता खोल्ने दाबी गरे ।

‘राप्रपा सकियो भन्नेहरुलाई यहीँबाट देखाइदिन्छौं’, उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

स्थानीय चुनावमा राप्रपाले झापाको हल्दिबारी, गौरिगञ्ज र कचनकबल गाउँपालिकाको प्रमुख पद जितेको छ ।

अनलाईल खबरबाट