माधव नेपालको नेतृत्वमा एक साताभित्र पार्टीका सबै काम टुंग्याउन - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

माधव नेपालको नेतृत्वमा एक साताभित्र पार्टीका सबै काम टुंग्याउन



काठमाडौं- नेकपा प्रचण्ड–नेपाल समूहले नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको छ । एकीकरणसम्बन्धी बाँकी काम र नेताहरूको कार्यविभाजन टुंगो लगाउन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको हो ।

पार्टी कार्यालय, पेरिसडाँडामा आइतबार बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल बनाएको हो ।

कार्यदललाई एक साताभित्र गृहकार्य गरी एकताको बाँकी काम र कार्यविभाजनसम्बन्धी प्रस्ताव पेस गर्ने जिम्मेवारी दिइएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

कार्यदलमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा, बेदुराम भुसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, वर्षमान पुन, गोकर्ण विष्ट, मातृका यादव र शक्ति बस्नेत सदस्य छन् ।

कार्यदलले पार्टी र जनसंगठनहरू, प्रदेश र जिल्लाहरूमा रिक्त रहेका पदहरूमा पूर्ति गर्नेबारे सिफारिस गर्नेछ । नेकपाको प्रचण्ड–नेपाल समूहले पूर्ववत् भागबन्डाअनुसार रिक्त रहेको स्थानमा पदपूर्ति गर्ने गरी छलफल अगाडि बढाएको छ ।

जसअनुसार पूर्वएमालेतर्फको रिक्त स्थानमा पूर्वएमालेबाटै तथा पूर्वमाओवादीको रिक्त रहेका स्थानमा पूर्वमाओवादीबाटै जिम्मेवारी दिने मोडलमा छलफल केन्द्रित हुने कार्यदलका एक सदस्यले बताए ।

कार्यविभाजनबारे निश्चित मापदण्ड बनाउने र त्यस आधारमा जिम्मेवारी बाँडफाँड गर्ने गरी छलफल हुने पनि ती सदस्यको भनाइ छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलले पार्टी एकीकरणको बाँकी काम र कार्यविभाजनका विषयमा गृहकार्य गर्ने बताए । ‘एकीकरणको बाँकी काम र कार्यविभाजनबारे कार्यदलले गृहकार्य गर्नेछ’ श्रेष्ठले भने ।