संसद विघटन गर्नेबारे परामर्श गर्दै देउवा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

संसद विघटन गर्नेबारे परामर्श गर्दै देउवा



प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटन गरेर अर्ली इलेक्सनमा जाने तयारी गरेका छन ।

आफूनिकट नेता तथा कानून व्यवसायीसँग बालुवाटारमा देउवाले प्रतिनिधि सभा विघटनबारे कानूनी परामर्श थालेका हुन् ।

आज एमसीसी संसदमा टेबल हुन नसकेपछि देउवाले आफूनिकट नेता तथा कानून व्यवसायीलाई बोलाएर विकल्पमा संसद विघटन गर्न सकिने या नसकिनेबारे छलफल थालेका छन् ।

एमसीसीमा सत्तारूढ दलकै नेताहरूले साथ नदिएकोमा देउवा रुष्ट छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटे टुटोस तर एमसीसी संसदमा टेबल गर्न सकिन्न भनेपछि देउवा अप्ठेरोमा परेका हुन् ।

देउवासमक्ष प्रतिनिधि सभाको विघटन मात्रै विकल्प रहेको कांग्रेसका एक नेताले हिमालपोस्टलाई बताए ।

”यसो गर्दा नि हुन्न, उसो गर्दा नि हुन्न,’ ती नेताले हिमालपोस्टसँग भने, ‘सत्तारूढ गठबन्धनबाट साथ नपाउने र प्रतिपक्षी ओलीले पनि एमसीसीलाई राजनीतिक हिसाबले उपयोग गर्ने रणनीति लिएपछि विघटनको विकल्पमा छलफल गर्न बाध्य हुनुपरेको हो ।’

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउन देउवा तयार भए एमसीसी टेबल गर्न आफूले सहज गरिदिने प्रतिबद्धता प्रचण्डले गरेका थिए ।

तर अन्तिम अवस्थामा प्रचण्डले आफ्ना नेता तथा कार्यकर्तालाई सडकमा एमसीसीविरुद्ध उभिन लगाएर थप नयाँ शर्त सिर्जना गरेको देउवाको बुझाइ छ ।