म पार्किन्सन्स भएकी आमा - Himal Post Himal Post
  • १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
Logo

म पार्किन्सन्स भएकी आमा



-बनिता खनाल 

मेरो जीवनमा उसको प्रवेश मेरो बिहे भएको एक बर्षपछि भयो। नचाहँदा नचाहँदै पनि उ हाम्रो परिवारको हिस्सा बन्यो। हामी तीन जना सँगै बस्न थाल्यौँ, मेरो जीवनसाथी, मेरो जीवनशत्रु र म। मेरो जीवनशत्रु अर्थात् पार्किन्सन्स।

दिमागमा हुने डोपामिन नामक रसायनको कमीका कारणले लाग्‍ने यस रोगको कुनै उपचार छैन। तपाईँको जीवनसाथीले कुनै दिन तपाईँको साथ छोडिहाले पनि पार्किन्सन्स नामक शत्रु एकपल्ट जीवनमा आयो भने यसले तपाईँको जीवनलाई नर्क बनाउँछ र सधैँ तपाईँसँगै बसिरहन्छ । तपाईँलाई पीडा दिइरहन्छ।

बूढ्यौलीमा लाग्‍ने यो रोग मलाई भने २६ वर्ष मै लागेको थियो। बिहे गरेको भर्खर २ वर्ष हुँदै थियो, बच्चा पाउन बाँकी नै थियो, यो शत्रु हाम्रो जीवनमा आयो । अब मैले ३ ओटा औषधि सेवन गरेर बच्चा जन्माउनु थियो।
बूढेसकालमा लाग्‍ने रोग भएकै कारणले होला, त्यसबेलासम्म कसैले पार्किन्सन्सको औषधि सेवन गरेर बच्चा जन्माएको रेकर्ड थिएन । नेपालमै सायद पहिलो मान्छे नै म थिएँ जसले पार्किन्सन्स रोग लागेपछि पनि बच्चा जन्माउने कोसिस गर्दै थियो ।

डाक्टरले दिएको तीनओटा औषधिमध्ये रेसाजिलिन भन्ने औषधिले गर्भ रहन नदिँदो रहेछ। यो कुरा हामीलाई थाहा भएन । कति प्रयास गर्दा पनि मेरो गर्भ रहन सकेन, बिरामी भएर त्यसै दु:खी थिएँ त्यसमाथि आमा बन्न नसक्ने ! यो कस्तो बज्रपात हो ? हामी निराश भएका थियौँ । पछि भारतको डाक्टरले एक महिनाका लागि रेसाजिलिन छोड्न लगाएपछि बल्ल मेरो गर्भ बस्यो।

पार्किन्सन्स को औषधि खाएर गर्भवति भएकी महिला नेपालमा सम्भवत: म नै पहिलो थिएँ । न नसाको डाक्टरलाई यस्तो केस थाहा थियो, न गाइनेकोलोजिस्टलाई नै। मैले पाटन अस्पतालमा डाक्टर अलकासँग रेगुलर चेकअप सुरु गरेँ ।

कति काहालीलाग्दा थिए ती दिन। कस्तो बच्चा जन्मिने हो ? आफू त रोगी भएर यति दु:ख पाइरहेकी छु बच्चालाई केही भए कसरी जीवन काट्ने ? यस्तैयस्तै डर मनमा आइरहन्थे । ड्यु डेट भन्दा २६ दिन अगाडि बच्चाको विकास नभएको भन्दै अपरेसन गर्न भनेर मलाई पाटन अस्पतालमा भर्ना गरियो। मलाई पूरै बेहोस पारेर अपरेसन गरिएको थियो। होस आउँदा घाउको दु:खाइ त छँदै थियो, त्योभन्दा बढी बच्चा कस्तो जन्मियो भन्ने चिन्ता थियो। मेरा आँखाबाट आँशु बगिरहेको थियो।

पार्किन्सन्स को औषधिका कारण मेरो दूध आएन। मेरो छोराले आमाको दूध खान पाएन। अस्पतालमा हुँदा मैले आमालाई अँगालो हालेर एउटा कुरा भनेकी थिएँ। “आमा हजुरले मलाई कति माया गर्नुहुँदो रहेछ भन्ने कुरा आज महसुस गर्दैछु । मेरो जीवनमा मेरो नवजात शिशुलाई जति माया कसैलाई गरेको रहेनछु।”

मेरो छोराप्रति मेरो धेरै दायित्व छ। मलाई थाहा छ । तर मेरो स्वास्थ्यका कारण म ती दायित्व पूरा गर्न सक्दिनँ । म उसलाई माया त गर्छु तर उसले चाहेको बेला ऊसँग खेल्न सक्दिनँ, उसलाई स्कुल पुऱ्याउन जान सक्दिनँ। अहिले त सानै छ, पछि बुझ्ने हुनेछ । साथीहरूका आमासँग सायद उसले मलाई दाँज्‍नेछ। साथीहरूका आमा जस्तै उसकी आमा किन एक्टिभ छैन भनेर गुनासो गर्ला। यस्ता कुराले म चिन्तित हुन्छु।

उसले सबै कुरा बुझे पनि, मेरो दु:खले उसलाई पिरोल्ने छ। पार्किन्सन्स रोग बढ्दै जाने रोग हो। म पछि असक्त हुनेछु र मेरो छोराको युवा जीवन मेरो हेरचाह गर्दै बित्‍नेछ। उसले बोझ नमाने पनि, मलाई सधैँ आफू बोझ भएको महसुस हुनेछ । मेरो छोराले मेरो जीवनमा खुशी त ल्याइदियो तर के म उसले पाउनुपर्ने सुख दिन सक्नेछु? बिरामी आमाको हेरचाह गर्दै उसको किशोरावस्था बित्‍नेछ भन्ने कुराले मलाई भत्भति पोल्छ ।
म उसका लागि कदापि बोझ बन्न चाहन्न । अरूका छोराहरूजस्तै उसले जीवनका सम्पूर्ण खुशी पाओस् भन्ने कामना गर्दछु।

पार्किन्सन्सलाई वंशानुगत रोग भन्ने गरिन्छ । यो कुराले मलाई सधैँ तर्साउँछ, जति दु:ख भोग्‍नु पर्ने बरू म नै भोग्छु, यदि भगवान् छन् भने म सधैँ “मेरो छोरालाई मेरो रोग नदिनू” भनी प्रार्थना गर्दछु।