कोरोना परीक्षण गर्ने साधन नै छैन - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कोरोना परीक्षण गर्ने साधन नै छैन



काठमाडौं- विश्वमा कोरोना संक्रमणले त्रास फैलाएपछि नेपाली जनसमुदायमा पनि रोग परीक्षणको माग बढिरहेको छ ।

तर सरकारसित परीक्षणका लागि आवश्यक पर्ने पिसिआर (पोलिस्मेयर चेन रिएक्सन) मागअनुसार मौज्दात छैन् । हाल १५ सय मात्र पिसिआर रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । सरकारले २ हजारजति पिसिआर ल्याएमध्ये करिब ५ सय प्रयोग भइसकेका छन् ।

पिसिआर कम भएका कारण शंका लागेजति सबै र निजी क्लिनिकका चिकित्सकको सिफारिसका बिरामीको नमुना परीक्षण नगरिएको एक निजी क्लिनिकका चिकित्सकले सुनाए । ‘लामो समय सेवा दिएका चिकित्सकको सिफारिसका आधारमा जाँच हुनुपथ्र्यो’, उनले भने ।

जनस्वास्थ्य प्रयोगशालामा जम्मा १५ सय पिसिआर

उनले आफूकहाँ आएका शंकास्पद दुई बिरामीले कोरोना परीक्षण गर्न नपाएको गुनासोसमेत सुनाए । यस विषयमा बुझ्न खोज्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोेकेको दायराभित्र परेका व्यक्तिको मात्र जाँच गर्न मिल्ने व्यवस्था गरिएको बताए ।

दायराभित्र नपरेकाको कोरोना जाँच हुन नसकेको राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले पनि पुष्टि गरे । उनले शंकास्पद सबैको परीक्षण गर्न नपाउँदा बिरामी अन्योलमा परेको स्वीकार गरे। परीक्षणको दायरा फराकिलो बनाउन प्राविधिक समिति र विश्व स्वास्थ्य संगठनसित छलफल अघि बढाइने पाण्डेले बताए । साधन नहुँदा शंका लागेजति सबैको कोरोना परीक्षण हुन सकेको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकृत डा. राजेशकुमार गुप्ताका अनुसार अहिलेको पिसिआरले अहिलेकै दरमा थप २५ दिन धान्न सक्छ । तर बढेको अवस्थामा भने पुग्ने स्थिति छैन । सुरुमा दैनिक आठजनाजतिको नमुना परीक्षण हुने गरेकोमा अहिले दैनिक २५ जनाको परीक्षण हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाली तथा उष्ण प्रदेशीय हावापानी भएका देशहरुमा तोकेको मापदण्डभित्रै जाँच गर्ने हो भने थप एक महिना पनि पुग्न सक्छ । तर सुरुको दिनमा भन्दा अहिले जाँचको माग र दैनिक जाँच संख्या बढेको छ । ‘पहिला विदेशबाट आउनेको मात्र जाँच हुन्थ्यो, अहिले आइसियूमा बसेका र शंकास्पद सबैको जाँच हुने गरेको छ’, गुप्ताले भने ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुग्ना झा र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले एक साताभित्रै थप पिसिआर ल्याइसक्ने दाबी गरेका छन् । ‘टेन्डर प्रकाशित भइसकेको छ, एक साताभित्रै आइपुग्छ’, महानिर्देशक श्रेष्ठले भने ।

डा. गुप्ताले दैनिक ८ सयजनाको कोरानो परीक्षण गर्ने क्षमता प्रयोगशालाको रहेको जानकारी दिए । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार रुघाखोकी लागेको, ज्वरो आएको, कोरोना प्रभावित देशबाट आएको र दुई साताभित्र ती देश घुमेर आएको अवस्थामा त्यस्ता बिरामीको मात्र कोरोना जाँच गरिन्छ । यस्ता बिरामीलाई चिकित्सकले जाँच गरी शंका लागेको अवस्थामा आइसोलेसनमा राखेर मात्र नमुना परीक्षण गर्न पठाउने नियम छ ।

नागरिक दैनिकको समाचार अनुसार सरकारले पछिल्लो समय आइसियूमा बसेका बिरामी, श्वास–प्रश्वास तथा फिजिसियन विशेषज्ञ चिकित्सकले सिफारिस गरेका बिरामी र आइसियूमा भर्ना भएका बिरामीको हकमा समेत कोरोना परीक्षण गर्ने नियम बनाएको छ । यसअघि आइसोलेसनमा बसेका र कोरोना प्रभावित देशबाट आएका बिरामीको हकमा मात्र जाँच गर्ने व्यवस्था थियो ।

मंगलबार ५२ नमुना संकलन

कोरोना परीक्षणका लागि मंगलबार सबैभन्दा बढी नमुना संकलन भएको छ । यसअघि दैनिक १० देखि २५ जनाको नमुना संकलन हुने गरेकोमा मंगलबार ५२ जनाको नमुना संकलन भएको हो ।

सरकारले परीक्षणको दायरा फराकिलो पारेकाले धेरै नमुना संकलन भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकृत डा. राजेश गुप्ताले बताए । उनले भने, ‘उपत्यकाबाहिर र भित्रका सबै अस्पतालबाट नमुना आएका छन् ।’ सबैको रिपोर्ट बुधबार आइपुग्ने उनले बताए ।