भदौ १ पछि परीक्षा संचालन गर्न अनुमति - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भदौ १ पछि परीक्षा संचालन गर्न अनुमति



काठमाडौं : सरकारले भदौ १ बाट सिमित सेवाहरु बाहेक सबै व्यवासाय र सेवाहरु खुल्ला गर्ने निर्णय गरेको छ।

सोमबारको मन्त्रिपरिषद निर्णय सुनाउँदै प्रवक्ता युवराज खतिवडाले भदौ १ गते बाट केही सेवाहरु बाहेक सुरक्षित मापदण्ड अपनाएर अन्तराष्ट्रिय उडान, यातायात र केही शैक्षिक गतिविधि लगायत अरु अन्य सेवाहरु संचालन गर्न अनुमति दिएको जनाकारी दिए।

भदौ १ गते बाट यातायात मन्त्रालयले तोके बमोजिम स्वास्थ्य सेवाको मापदण्ड अपनाएर लामो र छोटो दुरीका निजी र सार्वजनिक सवारी साधन चलाउने सरकारले अनुमति दिएको छ। यस्तै भदौबाट नै आन्तरिक र अन्तर्राष्ट्रिय उडान संचालन र अन्तर्राष्ट्रिय खेलको तयारी र प्रशिक्षणका लागि मन्त्रिपरिषद्ले स्वीकृती दिएको छ।

लामो समय बन्द रहेको विद्यालयहरु भने बन्द नै रहनेछन्। तर भदौ १ गते बाट विद्यार्थी भर्ना र परीक्षाको तयारी गर्न भने सरकारले छुट दिएको छ।

सरकारले होटल, रेष्टुराँ खोल्न अनुमति दिएको छ। तर त्यहाँ सामुहिक भोज, ठूलो समूहमा भेला भने हुन भने पाइने छैन। साथै ट्रेकिङ र पर्वतारोहणसम्बन्धी सेवाहरु पनि संचालन गर्न दिने निर्णय गरिएको। यसरी संचालन हुने व्यवसायहरुले स्वास्थ्य मापदण्डहरु भने पालना गर्नुपर्नेछ।

सरकारले लुज लकडाउनलाई निरन्तरता दिँदै शैक्षिक संस्था, प्रदर्शनी, भेला, पार्टी प्यालेस, जिम खाना, धार्मिक र सामाजिक स्थल अर्को मिति नभनेसम्म बन्द रहने जनाएको छ। साथै अन्तराष्ट्रिय सीमा पनि बन्द रहनेछ।

विभिन्न मन्त्रालयहरुले आआफ्नो क्षेत्र अनुसारको प्रोटोकल जारी गरी सेवा संचालन गर्न सक्ने जनाइएको छ।