प्रधानमन्त्रीद्वारा आफ्नै अडान विपरित २ उपप्रधानमन्त्री नियुक्त - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

प्रधानमन्त्रीद्वारा आफ्नै अडान विपरित २ उपप्रधानमन्त्री नियुक्त



कान्तिपुर :काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै अडानविपरित दुई जनालाई उपप्रधानमन्त्री बनाउदै चौथो पटक मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । फोरम अध्यक्ष उपेन्द्र यादव नै सरकारमा सहभागी हुने भएपछि उहाँलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बनाइएको हो ।

यादवलाई उपप्रधानमन्त्री दिनुपर्ने भएपछि प्रधानमन्त्री ओलीले रक्षामन्त्री ईश्वर पोखरेललाई पनि उपप्रधानमन्त्रीमा बढुवा गर्नुभएको छ । वरीयतामा पोखरेलपछि यादव रहनुहनेछ ।

यस्तै, सञ्चार एवं सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालाई मन्त्रीमा बढुवा गरिएको छ । फोरम नेपालका मोहम्मद इस्तियाक राईलाई शहरी विकास मन्त्रीमा नियुक्त गरिएको छ । नयाँ जिम्मेवारी पाएका र नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेका छन् ।

त्यसअघि विगतमा उपप्रधानमन्त्री भइसकेकाले अहिले पनि त्यही पद पाउनुपर्ने अडान यादवले राखेपछि शपथको समय झण्डै दुई घण्टा पर सरेको थियो ।

दिउँसो राष्ट्रपति कार्यालयले उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित मन्त्रिपरिषद्को कार्यविभाजन भएको विज्ञप्ति जारी गरेको थियो । तर, यादवले उपप्रधानमन्त्रीको अडान नछोडेपछि दिउँसो बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालसहितको बैठकले यादवसहित पोखरेललाई पनि उपप्रधानमन्त्री बनाउने समझदारी गरेको थियो ।

पोखरेल यसअघि पनि उपप्रधानमन्त्री भइक्नुभएको थियो । तर उपप्रधानमन्त्री नै नराख्ने भन्दै यसअघि ओलीले पोखरेललाई रक्षामन्त्रीको मात्र जिम्मेवारी दिनुभएको थियो ।

गत सोमबार संविधान संशोधन गर्ने सर्तमा सत्तारुढ नेकपासँग २ बुँदे सहमति गर्दै सरकारमा सहभागि भएको फोरम नेपालका अध्यक्ष यादव सप्तरी २ र राइ बाँके २ बाट निर्वाचित हुनभएको हो । फोरम नेपालबाट २ जना थपिएसँगै मन्त्रिपरिषद २४ सदस्यीय भएको छ ।