प्रधानमन्त्री कृषि परियोजनाका हाकिम २५ हजार घुससहित पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रधानमन्त्री कृषि परियोजनाका हाकिम २५ हजार घुससहित पक्राउ



धनगढी,कैलाली । यहाँस्थित प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाका प्रमुख रामानन्द यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले २५ हजार घुससहित पक्राउ गरेको छ । बुधबार अपरान्ह धनगढीका पत्रकार सुशील ढुंगानाबाट डकुमेन्ट्री बनाएवापदको ५० हजार रुपैयाँको आधा रकम घुस लिने क्रममा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

डकुमेन्ट्री बनाएपछि आधा रकम घुस मागिरहेको थाहा पाएपछि अख्तियार महेन्द्रनगरस्थित कार्यालयका प्रवक्ता खिमानन्द पाठकको नेतृत्वमा आएको टोलीले उनलाई गदरियामा रहेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाको कार्यालयबाटै पक्राउ गरेको हो । उनको साथबाट २५ हजार नगद बरामद गरिएको प्रवक्ता पाठकले बताए ।

यादवलाई पक्राउ गरी महेन्द्रनगरस्थित अख्तियारको कार्यालय लगिएको छ । उनलाई विहीबार अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं पठाइनेछ । अख्तियारको केन्द्रीय कार्यालयले मुद्दा चलाउने चलाउने निर्णय गर्ने भएकाले काठमाडौं पठाउन लागिएको हो ।

यसअघि पनि यादवले तीन करोडका कृषि औजार खरिदमा अनियमितता गरेको कुराले चर्चा पाएको थियो । उनले टेन्डर नगरी किसानलाई अनुदानमा वितरण गरिने ट्याक्टर, पावर ट्रिलर लगायतका करोडौंका उपकरण कोटेशनबाट किनेका थिए ।

कैलालीमा गहुँको सुपर जोन भएकाले स्थापना भएकादेखि नै यादवलाई परियोजनाको प्रमुख बनाएर पठाइएको थियो । साभार : अन्नपूर्ण पोस्ट