प्रदेश ७ मा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

प्रदेश ७ मा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन



धनगढी ,कैलाली ।  प्रदेश ७ मा फौजदारी अभियोग लागेका सांसदको मुद्दाको किनारा नलागेसम्म पद निलम्बन हुने नियमावली पारित भएको छ । संघीय संसदमा फौजदारी अभियोग लागेका सांसदको पद निलम्बन हुने व्यवस्था गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेका वेला प्रदेश ७ ले भने यो विषयको टुंगो लगाएको छ।

गत फागुन २६ गतेको सभाले बैठकबाट सर्वसम्मत पारित गरेको प्रदेशसभा नियमावलीमा कुनै पनि सांसदलाई फौजदारी अभियोगमा पक्राउ गरी हिरासतमा राख्न सकिने उल्लेख छ। अभियोगबारे सभामुखलाई जानकारी दिँदै मुद्दाको किनारा नलागेसम्म प्रदेशसभाका कुनै कार्यमा संलग्न हुन नपाइने नियमावलीमा उल्लेख छ।

नियमावलीमा फौजदारी अभियोग लागेमा सभामुखलाई जानकारी गराएर पक्राउ गर्न सकिने व्यवस्था रहेको प्रदेश सभा सचिवालयका कानुन अधिकृत टेकप्रसाद जोशीले बताए। ‘नियमावलीमा यही पारित भएको छ संशोधन नभएसम्म यही कार्यान्वयन हुन्छ’,उनले भने।

पुर्पक्षका लागि थुनामा रहेको अवधीभर वा अदालतले फैसला गरेको कैद सजाय भुक्तान गरिरहेको अवधिभर सभामुखले सांसद पद निलम्बन गर्नुपर्ने व्यवस्था गरिएको प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पिताम्बर घिमिरेले बताए । फौजदारी अभियोग भन्नाले हत्या, अपहरण, बलात्कार, भ्रष्टाचार लगायतका अपराध भन्ने बुझिन्छ ।