प्रदेश ७ मा दैनिक एकभन्दा बढी आत्महत्या - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

प्रदेश ७ मा दैनिक एकभन्दा बढी आत्महत्या



‘पाँच वर्षमा प्रदेश ७ का दुई हजार एक सय ७२ नागरिकले गरे आत्महत्या’

डोटी । प्रदेश ७ मा दैनिक एकजनाभन्दा बढीले आत्महत्या गर्ने गरेको पाइएको छ । यो संख्या बढ्दै गएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकअनुसार पाँच वर्षमा प्रदेश ७ का दुई हजार एक सय ७२ जनाले आत्महत्या गरेका छन् । पाँच वर्षको अवधिमा गत वर्ष सबैभन्दा बढीले आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा चार सय ७० जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पाँच वर्षअघि ०७०/७१ मा चार सय ३१ जनाले आत्महत्या गरेका थिए । त्यो संख्या ०७१/७२ मा तीन सय ७९ मा झरेपछि ०७२/७३ देखि भने बढ्दै आएको छ । प्रहरीको तथ्यांकअनुसार, ०७२/७३ मा चार सय ५६ र ०७३/७४ मा चार सय ३६ ले जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा पनि सबैभन्दा बढी झुन्डिएका छन् । यो अवधिमा एक हजार चार सय ५९ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । विष सेवन गर्नेहरूको संख्या दोस्रो नम्बरमा छ । पाँच वर्षमा ६ सय ८१ जनाले विष सेवन गरेर ज्यान त्यागेका छन् । त्यस्तै, नदी, नाला र पोखरीलगायत पानीमा हाम फालेर, भिर, रुख र घरको छतबाट हाम फालेर पनि केहीले आत्महत्या गरेका छन् । आफ्नै शरीरमा आगो लगाएर तथा हतियार प्रयोग गरेर केहीले आत्महत्या गरेको पाइएको छ ।

देशभर २३ हजारभन्दा बढी
पाँच वर्षमा देशभर २३ हजार नौ सय ४८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । जसमा १७ हजार एक सय ९० जनाले झुन्डिएर तथा ६ हजार एक सय ६१ जनाले विष सेवन गरेर ज्यान गुमाएका छन् । पानीमा हाम फालेर, शरीरमा आगो लगाएर तथा आफँैलाई करेन्ट लगाएर पनि आत्महत्या गरेको पाइएको छ ।

किन गर्छन् आत्महत्या ?
प्रहरीको तथ्यांकअनुसार आत्महत्याका विविध कारण देखिएका छन् । जसमा मानसिक रोग, असफल प्रेम, घरेलु हिंसा, यौन दुव्र्यवहार साथै दाइजो प्रथाका कारण आत्महत्या गरेको पाइएको छ । त्यस्तै, गरिबी, पारिवारिक कलह, आर्थिक असफलता पनि आत्महत्याको कारण बनेका छन् ।

कतिपयले सामाजिक प्रतिष्ठा कायम राख्न नसक्दा, व्यापार व्यवसायमा घाटा हुँदा, आफन्त गुमाउँदा पनि आत्महत्या गरेका छन् । आत्महत्या गरेका युवामा भने तनाव, अत्यधिक महत्वाकांक्षा, बेरोजगारी, पढाइमा असफलता, एक्लोपन, असफल प्रेमजस्ता कारण देखिएका छन् । नयाँ पत्रीका बाट