प्रदेश ७ : पद्मा ग्रुपले प्रसारण केन्द्रको वार्षिकोत्सव मनायो - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

प्रदेश ७ : पद्मा ग्रुपले प्रसारण केन्द्रको वार्षिकोत्सव मनायो



धनगढी,कैलाली । पद्मा मिडिया ग्रुप अन्तर्गत सञ्चालित माउण्टेन, बिजनेस प्लस र भक्तिदर्शन टेलिभिजनको प्रदेश नम्बर ७ प्रसारण केन्द्रले एक वर्ष पार गरेको उपलक्ष्यमा मंगलबार धनगढीमा वार्षिकोत्सव कार्यक्रम भएको छ ।

वार्षिकोत्सव कार्यक्रमको प्रदेश नम्बर ७ का मुख्यमन्त्री चिलोचन भट्टले उद्घाटन गरे । सो अवसरमा मुख्यमन्त्री भट्टले कतिपय सञ्चार माध्यमहरूले पूर्वाग्रही ढंगले समाचार दिने गरेको बताए । ‘कतिपय सञ्चार माध्यमले सहीलाई पनि गलत भनेर सत्यतथ्य बंग्याउने गरेका छन्’ मुख्यमन्त्री भट्टले भने – ‘सञ्चार माध्यमले जनताका सामु जस्ताका त्यस्तै समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्छ ।’ मुख्यमन्त्री भट्टले प्रदेश सरकारले श्रमजीवी पत्रकारको हकहितका लागि नीति बनाउने बताए ।

कार्यक्रममा प्रदेश सभामुख अर्जुनबहादुर थापाले उनले प्रदेशलाई समृद्ध बनाउन सञ्चारकर्मी तथा नागरिक समाजको सकारात्मक भूमिका आवश्यक रहेको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले सञ्चारकर्मीको सकारात्मक भूमिका नभएको भए प्रदेशमा जातीय द्वन्द्व झन् बढेर जाने चर्चा गरे ।

कार्यक्रम पद्मा मिडिया गु्रपका अध्यक्ष राजु कडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उद्योग पर्यटन तथा वन तथा वातावरण मन्त्री माया भट्ट, जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापा, एमाले नेता दुर्गा जोशी, काँग्रेसका जिल्ला सचिव दीपकराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सुदूरपश्चिम क्षेत्रीय प्रशारण केन्द्रका प्रमुख श्रवण देउवाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन युवराज न्यौपानेले गरेका थिए ।फुलबारी खबरको सहयोगमा