पारस शाहको स्वास्थ्य अवस्थामा सुधार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पारस शाहको स्वास्थ्य अवस्थामा सुधार



काठमाडौं । हृदयाघातका कारण सोमबार अचानक अस्वस्थ भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उनलाई नर्भिक अस्पतालको सीसीयूबाट स्वास्थ्य अवस्थामा सुधार आएपछि क्याबिनमा सारिएको पारिवारिक स्रोतले बताएको छ ।

उनको स्वास्थ्य अचानक बिग्रिएपछि पूर्वरानी कोमल सोमबार राति सिमराबाट स्थलमार्ग हुँदै राति साढे १० बजे नर्भिक अस्पताल आइपुगेकी थिइन् । पूर्वराजा ज्ञानेन्द्र भने सिमरामै छन् । पूर्वराजा तथा पूर्वरानी १ महिनाको कार्यक्रमको लागि सिमरा गएकोमा छोरा बिरामी परेपछि पूर्व रानी एक्कासी फर्कनु परेको हो ।

पारिवारिक स्रोतका अनुसार पूर्वराजा उतै भएपनि छोराको स्वास्थ्य अवस्थाका बारेमा भने नियमित रुपमा जानकारी लिइरहेका छन् । आज आउने तयारी भएको भए पनि पारसको स्वास्थ्य ‘नर्मल’ अवस्थामा गइसकेकोले नआउने सम्भावना पनि रहेको स्रोतले बताएको छ ।

पूर्वयुवराज्ञी हिमानी भने अहिले थाइल्यान्डमा रहेकोले उनी अस्पताल आउन पाइनन् । तर, उता पनि पारसको स्वास्थ्य अवस्थाबारेमा नियमित रुपमा जानकारी गराइएको बताइएको छ । हिमानी दुई छोरीको पढाईको सिलसिलामा अहिले थाइल्यान्ड गएको बताइएको छ । पारसका छोरा हृदयेन्द्र भने रातिसम्म अस्पतालमा बाबुसँगै रहेका थिए ।

सोमबार अस्पताल भर्ना गरिएका पारसको एन्जिओप्लास्टी गरिएको थियो । ‘‘उहाँ सामान्य अवस्थामा हुनुहुन्छ । रातिदेखि नै कुराकानी गरिरहनु भएको छ,’’ पारिवारिक स्रोतले  कुराकानीमा भन्यो । उनको स्वास्थ्यमा सुधार आइसकेकोले अस्पतालबाट चाँडै डिस्चार्ज हुने सम्भावना रहेको बताइएको छ ।

उनलाई भेट्न अस्पतालमा गएका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले   भने,‘‘उहाँको स्वास्थ्यको बारेमा देश विदेशबाट चिन्ता व्यक्त गर्ने काम भइरहेको छ । उहाँको स्वास्थ्यमा सुधार आइसकेकोले चिन्ता नगर्न तपाईँहरुकै मिडियामार्फत आग्रह गर्न चाहन्छु ।’’

पूर्वयुवराज पारस ललितपुरमा सोमबार मन्दिर भ्रमणमा पनि गएका थिए । मन्दिर भ्रमणका क्रममा सँगै रहेका बस्नेतले भने,‘‘त्यहाँबाट छुुटेपछि अचानक उहाँलाई छाती दुखेछ । त्यसपछि अस्पताल लगिएको हो ।’’

सोमबार दिउँसो उनको मुटुको भल्बमा समस्या भइ हृदयघात भएको हो । “छातीमा असह्य पीडाको महसुस भएपश्चात् पूर्वयुवराज पारसलाई अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा लगिएको थियो । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन आरपी मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, “थोरै समय नर्भिकको अन्तर्राष्ट्रिय आकस्मिक कक्षमा राखी जाँचपश्चात् उहाँलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा उहाँको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो । उपरोक्त बन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उहाँलाई सी.सी.यु.मा सारिएको छ ।”

उनको उपचारमा प्रा.डा. यादवदेव भट्ट लगायत डा. जे.पी. जैसवाल, डा. नग्मा श्रेष्ठ, डा. सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको छ ।बाह्रखरीबाट