अब हामी हरेक खेल जितेर फर्किनेछौँ : पारस खड्का - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

अब हामी हरेक खेल जितेर फर्किनेछौँ : पारस खड्का



काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अब नेपालीले हरेक खेल जितेर फर्किने बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टि-२० विश्वकप २०२० को एसिया छनोट अन्तर्गत दोस्रो चरण खेल्न सिंगापुर प्रस्थान गर्नुअघि उनले यस्तो बताएका हुन् ।

नेपालले झन्डै १० दिन मलेसियामा प्रशिक्षण र दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मंगलबार बिदाइका क्रममा कप्तान पारस खड्काले टोलीको एकमात्र लक्ष्य अर्को चरणमा छनोट हुनु रहेको पनि बताए ।

उनले भने ‘यस प्रतियोगिता हाम्रो लागि निकै महत्त्वपूर्ण छ । हरेक खेल जित्नका लागि खेल्नेछौं । विपक्षी टोली कमजोर भन्ने ठाउँ रहने छैन,’ उनले भने, ‘ टोलीमा प्रतिस्पर्धा निकै बढेको छ । यसले हामीलाई अझै बलियो बनाएको महसुस गरेका छौं ।’

मलेसियाविरुद्ध मैत्रीपूर्ण खेलले टोलीको प्रतियोगिता तयारीलाई सहयोग पुग्ने उनले बताए । ‘ हामीले अन्य देशसँग पनि प्रस्ताव राखेका थियौं तर व्यस्तताका कारण सफल हुन सकेन । मलेसिया वातावरणको हिसाबले सिंगापुरसँग मिल्दोजुल्दो छ । मलेसिया राम्रो टोली पनि हो त्यसैले त्यहाँको अनुभवले सिंगापुरमा सहज हुनेछ,’ उनले भने ।

नेपालसँगै आयोजक सिंगापुर, मलेसिया, कुवेत र कतार प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोली टि-२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ । नेपालले २३ जुलाईमा कतारको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ ।