आजको खेल बारे यस्तो भन्छन पारस ! - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

आजको खेल बारे यस्तो भन्छन पारस !



काठमाडौँ – पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीले दुई वर्षअघि भएको ५० ओभरको खेलमा नेदरल्याण्ड्सलाई उसकै मैदानमा हराएको थियो ।

सन् २०१६ को अगस्ट १५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई उसकै मैदान आम्स्टरडममा १९ रनले हराएको थियो ।

कप्तान पारसले त्यो बेला सर्वाधिक ८४ रन बनाएका थिए । पारसकै कप्तानीमा नेपाली टोलीले बुधबार त्यहि मैदानमा आफ्नो पहिलो एदिवसीय क्रिकेट खेल्दैछ ।

एक दिवसीय मान्यता पाएपछि पहिलो पटक नेदरल्याण्ड्ससँग खेल्न लागेको ऐतिहासिक खेलको तयारीमा रहेका पारसले भनेका छन्, ‘हामीले यहाँ (आम्स्टरडम) ५० ओभरको खेल खेलेका छौँ, हामीले उनीहरुलाई हराएका थियौँ ।’

उनले अघि भने, ‘विगतको सम्झना हो, र इतिहासको अंश । नेदरल्याण्ड्स खेल्नका लागि राम्रो ठाउँ हो ।’

दुई वर्षअघिको खेलमा भर्खरै पाइला चाल्दै गरेका सन्दीप लामिछाने अहिले स्टार खेलाडी भइसकेका छन् । उनी नेपाली टोलीमा छन् । यसले पनि टोलीलाई आत्मबल दिएको छ । तर यहाँसम्मको यात्रा नेपाली टोलीले धेरै आँट र धैर्यताले तय गरेको हो ।

कप्तान पारस खड्काले भनेका छन्, ‘हामीले कम्तिमा चार वर्षका लागि ओडिआई स्टाटस पक्का गरेका छौँ । यसले हामीलाई स्वतन्त्र बनाएको छ । टिमका खेलाडीहरुले यसलाई इन्जोए गरिरहेका छन् ।’

पारसले अघि भने, ‘विश्व क्रिकेट लिग प्रणालीबाट आउनु, हरेक खेल जित्नु पर्ने थियो, एक खराब दिनले सबै मेहनतलाई टुटाउन सक्थ्यो, हामी खेलाडीले सोच्थ्यौँ–हाम्रो करिअरको अन्त्य यस्तै हो ? जवाफ– हो, होइन आउँथ्यो । अर्थात हामी धेरै उकाली ओरालीबाट गुज्रिएका छौँ । आज हामी यहाँ पहिलो ओडिआई खेल्न आएका छौँ । पक्कै पनि यो विशेष हुनेछ हाम्रा लागि ।’

नतिजा आफ्नो पक्षमा नआए पनि फेरि मेहनत गरेर आफूलाई प्रमाणित गर्ने ठाउँ रहेको पारसले बताए । उनले भने, ‘तर पहिलो ओडिआई हो, हामी पक्कै पनि जितसहित सुरुवात गर्न चाहन्छौँ । जित पक्कै पनि रोमाञ्चक हुनेछ । ऐतिहासिक हुनेछ ।’