पारसलाई नलाग्ने आस्थालाई मात्र लाग्ने यो कस्तो राज्यको कानुन ? - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

पारसलाई नलाग्ने आस्थालाई मात्र लाग्ने यो कस्तो राज्यको कानुन ?



काठमाडौं- ड्युटीमा रहेका प्रहरीमाथि गायिका आस्था राउतले दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

तर, उस्तै प्रकृतिको घटनामा पूर्वयुवराज पारस शाहमाथि भने कारबाही त के प्रश्नसमेत सोध्ने आँट नगरेको खबर आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकमा भोला अधिकारीले लेखेका छन्।

२ भदौमा पारसले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका थिए।

पारसले ड्युटीमा रहेका प्रहरी नायव निरीक्षक ईश्वर खत्रीमाथि हातपात गरेका थिए। उनले खत्रीलाई धकेलाधकेल मात्र गरेनन्, बारम्बार कुट्न झम्टिएका थिए।

यो दृश्य तत्कालै सामाजिक सञ्जालमा छताछुल्ल भयो।

दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि पारसमाथि प्रहरी कारबाही अघि बढ्नुपर्ने, पक्राउ पुर्जी जारी गर्नुपर्ने आबाज उठ्न थाल्यो।

तर विमानस्थल प्रशासन तथा प्रहरीका उच्च अधिकारीले पारसलाई कारबाही गर्नेतर्फ कुनै चासो दिएनन्।

ठीक यही प्रकृतिको घटना यतिबेला सर्वत्र चर्चामा छ।

गएको बिहीबार भारतको सिक्किममा कन्सर्ट गर्न भद्रपुर उड्ने लागेकी आस्था राउतले ड्युटीमा रहेकी प्रहरी महिला रमिता श्रेष्ठलाई औँला ठड्याएको र अभद्र व्यवहार गरेको आरोपमा प्रहरी यति सक्रिय भयो कि उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्यो।

कुरा यत्तिमै सीमित भएन, प्रहरीले उनलाई फरार कोटीमा पनि राखेको छ।