पराजीत भएका गौतम पुनः निर्वाचन लडेर प्रतिनिधि सभामा आउने - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

पराजीत भएका गौतम पुनः निर्वाचन लडेर प्रतिनिधि सभामा आउने



काठमाडौं : गएको प्रतिनिधिसभाको निर्वाचनमा देशैभरबाट बाम गठबन्धन जितेर आउँदा बर्दिया १ बाट पराजीत भएका नेकपा नेता बामदेव गौतम पुनः निर्वाचन लडेर प्रतिनिधि सभा आउने तयारीमा छन्।

सबै शीर्ष नेताहरुले जित्दा तत्कालिन नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेता गौतम पराजीत भए। पार्टीको शीर्ष नेता पराजीत भएपछि अहिले गौतमलाई संसदमा ल्याउन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै बामदेवलाई प्रस्ताव गरेका छन्। नेता गौतम निकट स्रोतका अनुसार उनी पार्टी निर्णयको पक्षमा छन्। सकभर आफ्नो क्षेत्र छाड्न नचाहेपनि पार्टीले आवश्यकता महसुस गरेमा गौतम डोल्पा जान तयार छन्।

‘उहाँले सकभर आफ्नो क्षेत्र छाड्न चाहनुभएको छैन। तर पार्टीका दुवै अध्यक्षले तपाइँको आवश्यकता संसदमा छ आउनुस् भनेकाले उहाँ जान तयार हुनुभएको हो’, स्रोत भन्छ ‘तर त्यो पनि पार्टीले आधिकारिक रुपमा निर्णय नगर्दासम्म उहाँको व्यक्तिगत रुपमा कुनै तयारी छैन। निर्णय भएपछि नै अगाडि बढ्नुहुनेछ।’ डोल्पाबाट प्रतिनिधिसभाको निर्वाचन जितेर सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाइएका सांसद धनबहादुर बुढा मगरलाई राजीनामा दिन लगाएर गौतमलाई चुनाव लडाउने नेकपाको तयारी छ। यस सन्दर्भमा राज्यमन्त्री बुढा पनि सहमत भइसकेका छन्।

गौतम पराजित भएपछि पार्टी राजनीति र सरकार संचालनमा असर पुगेको भन्दै डोल्पाबाट निर्वाचित बुढाको राजीनामा गराएर गौतमलाई चुनाव लडाउन लागिएको छ। पछिल्ला केही घटनाक्रमले यसको पुष्टी पनि हुँदै गएको छ। गौतम निकटका नेता मानिने बुढालाई राजीनामा दिने सहमतिअनुसार नै राज्यमन्त्री बनाइएको थियो। तयारी भइरहेका बेला डोल्पाका युवाहरूले पत्रकार सम्मेलनमार्फत् गौतमलाई नस्वीकार्ने चेतावनी दिएका हुन्। डोल्पाबाट निर्वाचित भएर राज्यमन्त्रीसमेत भएका बुढा वामदेव गौतमका निकट मानिन्छन्।

स्रोतकाअनुसार राज्यमन्त्री बुढाले १५ भदौभित्र राजीनामा दिने तयारी छ। गौतम डोल्पा आउने पक्का भएपछि राज्यमन्त्री बुढाले एक चरण डोल्पाका दुई नगरपालिका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका पुगेर जनतालाई जानकारी गराउने र काठमाडौं आई राजीनामा दिने तयारी छ। जसका लागि उनी ७ भदौमा डोल्पा जाने कार्यक्रम छ। नेता बुढाले राजीनामा दिएपछि सरकारले डोल्पामा उपनिर्वाचन गर्नका लागि निर्वाचन आयोगसँग आग्रह गर्नेछ।

उपनिर्वाचनमा गौतम उम्मेदवार बनेर संसद भित्राउने नेकपा अध्यक्षद्वय ओली र प्रचण्डको योजना छ। यस विषयमा सोमबार बसेको नेकपाको सचिवालय बैठकमा समेत सामान्य छलफल भएको थियो। तर नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ यसबारे पार्टीमा छलफल नभएको तर आफु भन्दा माथिल्लो कमिटिमा छलफल भएको भए जानकारी नभएको बताए।

यद्यपी निर्वाचित सांसदलाई राजीनामा गर्न लगाएर पराजित भएका शीर्ष नेता गौतमलाई चुनाव लडाउने चर्चाबीचमै डोल्पाका युवाहरूले गएको साउन १८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर त्यसको विरोध गरेका थिए। उनीहरुले बुढालाई राजिनामा दिन लगाएमा डोल्पाली जनतामाथि अन्याय हुने बताएका थिए।