अब पञ्जाब राज्यमा पनि आम आदमी पार्टीको सरकार - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

अब पञ्जाब राज्यमा पनि आम आदमी पार्टीको सरकार



काठमाडौँ — भारतमा ५ राज्यमा विभिन्न चरणमा भएको विधानसभा चुनावको सुरुवाति मतपरिणाम आउन थालेको छ । सुरुवाति मतपरिणाम अनुसार ४ राज्यमा भारतीय जनता पार्टी(बीजेपी) र एउटामा आम आदमी पार्टी अगाडि रहेको छ ।

४०३ सिट रहेको उत्तरप्रदेश विधानसभासहित गोवा, मणिपुर र उत्तराखण्डमा बीजेपी अगाडि रहेको छ । त्यस्तै दिल्लीबाहिर सरकार बनाउन लागि परेको आम आदमी पार्टीलाई पञ्जाबमा सफलता मिल्न सक्ने देखिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार ११७ सिट रहेको पञ्जाबमा आम आदमी पार्टी करिब ८० सिटमा अग्रस्थानमा रहेको छ ।

१ सय १७ सिट रहेको पञ्जाबमा सरकार बनाउन ५९ सिट आवश्यक पर्छ ।अघिल्लो चुनावमा आपले २० सिट जितेर प्रतिपक्षी दलको स्थान लिएको थियो । दिल्ली नजिकैको पञ्जाबमा सत्तामा आउन मुख्यमन्त्री अरविन्द केजरीवाल अघिल्लै चुनावदेखि प्रयासरत थिए। तर सन् २०१७ को चुनावमा उनको दलले अपेक्षाकृत जित भने हासिल गर्न सकेन । त्यतिबेला दिल्लीमा आपले सरकार चलाएको दुई वर्षमात्रै भएको थियो । र, अहिले ७ वर्ष सरकार चलाइसकेका केजरीवालले ‘दिल्ली मोडल’ को प्रचार पञ्जाबमा गरेका थिए।

आम आदमीले यस पटक लोकसभा सदस्य भागवन्त मनलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा उठाएको छ । डिजिटल प्लेटफर्मको सुरुवात हुनुभन्दा पहिले नै भगवन्त मान पन्जाबका घरघरमा सुनिएका र रुचाइएका पात्र हुन् । राजनीतिक व्यंग्यका लागि उनी निकै परिचित छन् । लोकसभा बैठकमा समेत उनका प्रस्तुति रोचक हुने गर्छन् । उनले सन् २०११ मा पिपल्स पार्टी अफ पन्जाबबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । तर सन् २०१४ मा भारतमा राष्ट्रिय रूपमा नरेन्द्र मोदीको लहर र दिल्लीमा आम आदमी पार्टी उदाइरहेका बेला मानले पार्टी परिवर्तन गरेका हुन् ।

२०१४ को लोकसभा चुनावमा उनी संगरुर विधानसभा क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए । कांग्रेस र अकाली दलका उम्मेदवारसँगको प्रतिस्पर्धामा उनी २ लाखभन्दा बढी मतान्तरले विजयी भएका थिए । उनी सन् २०१९ मा पनि सोही सिटबाट नै लोकसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी पन्जाबमा आम आदमी पार्टीका सबैभन्दा प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।