वैशाख १ देखि वागमती 'पानीजहाज' - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

वैशाख १ देखि वागमती ‘पानीजहाज’



हेटौँडा – सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब वाग्मती नदीमा व्यावसायिक रूपमा मोटरबोट सञ्चालन हुने भएको छ ।

जलमार्ग निर्माणसँगै नयाँ वर्ष २०७६ का अवसरमा विशेषतः मकवानपुर, सिन्धुली, सर्लाही र रौतहटवासीले मोटरबोटमा सयर गर्न पाउने भएका छन् । विसं २०७६ वैशाख १ गतेदेखि सञ्चालन हुने गरी रौतहटको वाग्मती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म जलमार्ग व्यवस्थापन गरी मोटरबोट सञ्चालन गर्न लागिएको हो ।

सांसद एवं अर्थ समितिका सभापतिसमेत रहेका कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण गरिएको हो । वैशाख १ गतेदेखि ११ सिट क्षमताको मोटरबोट सञ्चालन हुने वाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।

उनका अनुसार तत्काल भाडामा ल्याइएको मोटरबोट सञ्चालन हुने र पछि सङ्घीय तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै मोटरबोट सञ्चालन गर्ने योजना छ । मोटरबोट सञ्चालनपछि वाग्मती गाउँपालिका तथा मकवानपुरको पर्यटन विकाससँगै सो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास छ ।

नेपालमा समुन्द्रसँग जोड्ने जलमार्गलाई सङ्घीय सरकारले प्राथमिकता दिएको समयमा पर्यटन प्रवद्र्धक तथा स्थानीयवासीको दैनिकीलाई सहज बनाउनका लागि योजना ल्याइएको सांसद दाहालले बताए ।

जलमार्गले दुर्गम राईगाउँको जीवनशैलीमा परिवर्तन आउने उनको भनाई छ । सांसद विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत खर्च गरिने योजनामध्येबाट रु २० लाख खर्च गरी जलमार्गको निर्माण गरिएको हो ।

मकवानपुरको वाग्मती गाउँपालिकाअन्तर्गत राईगाउँदेखि रौतहटसम्म करीब सात किलोमिटर लामो पर्यटन जलमार्ग निर्माण गरिएको हो । रासस