‘पानीजहाजको बहानामा सबै पानी भारत बगाउने ओलीको राष्ट्रवाद हो’ - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

‘पानीजहाजको बहानामा सबै पानी भारत बगाउने ओलीको राष्ट्रवाद हो’



काठमाडौं- नेकपा नेता रामचन्द्र झाले नदीमा पानीजहाज चलाउने नाममा प्रधानमन्त्री केपी ओलीले नेपालको सबै पानी भारततर्फ पठाउने योजना बनाएको दाबी गरेका छन्।

‘जहाज चलाउने ओलीको योजना बुझ्नुस्, त्यो भनेको राष्ट्रको झण्डा राखेर जहाज चलाउने नाममा सम्पूर्ण नेपालको पानी इन्डिया पठाउने योजना हो,’ प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले बुधबार आयोजना गरेको विरोध सभामा बोल्दै झाले भने, ‘यिनको राष्ट्रवाद त्यहि हो।’

उनले ओलीको खास राष्ट्रवाद कस्तो हो भन्ने बुझ्नका लागि मदन भण्डारी मेमोरियल कलेजका भित्ता र सो कलेजका गाडीमा हेर्न आग्रह गरे।

‘मदन मेमोरियल कलेजका वाल र उसका गाडीमा हेर्नुहोस्, कसले पैसा दिइरहेको छ, त्यहिँ लेखेको छ,’ उनले भने।

ओलीनिकट समूहको नेतृत्वमा सञ्चालित मदन भण्डारी फाउन्डेसन, कलेज लगायतलाई भारतीय दूतावासले सहयोग दिने गरेको छ। झाले त्यसैतर्फ संकेत गरेका थिए।