ओली-प्रचण्ड पानी बाराबार - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

ओली-प्रचण्ड पानी बाराबार



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ।

गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद टुटेको हो। त्यसभन्दा अघि विभिन्न विषयमा छलफल हुँदै आएको भए पनि ३ मंसिरको सचिवालय बैठकयता अध्यक्षद्वय ओली र दाहालका बीचमा संवाद नभएको खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

हरेक समस्या आउँदा दुई अध्यक्षबीच संवादमार्फत समस्या समाधानको पहल हुने गरेको थियो तर अहिले उनीहरूबीच संवाद टुटेपछि समस्याहरू पनि थाती रहेको निकटस्थहरूले बताएका छन् । ओली पक्षले दाहालले प्रस्तुत गरेको प्रतिवेदनलाई अराजनीतिक प्रतिवेदनको संज्ञा दिँदै आएका छन्।

नेकपाभित्रको शक्ति संघर्षले पार्टी एकता निकै कमजोर बन्न पुगेको छ । नेकपा स्रोतका अनुसार अध्यक्षद्वयका बीचमा बढ्दै गइरहेको दुरीका कारण पार्टी फुट्ने हो कि भन्ने चिन्ताले आम कार्यकर्ताहरू निराश बन्न पुगेका छन्।

ओली पक्षका नेताहरूले भने प्रधानमन्त्रीका कारण पार्टी नफुट्ने तर अराजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेहरूले पार्टी फुटाउन सक्ने सम्भावनालाई भने नकार्न नसक्ने बताउँदै आएका छन् । दाहाल पक्ष नेताहरूले पनि प्रधानमन्त्रीले पार्टीको निर्णय कार्यान्वयन नगरेकाले समस्या आएको बताउँदै आएका छन्।

पहिला पार्टीमा विवाद हुँदा अध्यक्षद्वयले छलफल गरेरै समाधान निकाल्ने र अगाडि बढ्ने काम हुन्थ्यो । अहिले त अध्यक्षद्वयका बीचमा संवाद नै टुटेको छ । दुवै पक्ष आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोज्नुले पार्टी गम्भीर समस्यामा फसेको स्पष्ट हुन्छ।