मिश्रलाई पाण्डेको दश बुँदे प्रश्न: नेता भएपछि नैतिकता देखाउन पर्दैन? - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

मिश्रलाई पाण्डेको दश बुँदे प्रश्न: नेता भएपछि नैतिकता देखाउन पर्दैन?



काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले रवीन्द्र मिश्रले सोधेका प्रश्नको जवाफ दिएका छन्। केही दिनअघि अध्यक्ष मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। पाण्डेले स्पष्टीकरणको जवाफका साथै थप प्रश्नहरु पनि सोधेका छन्।

मिश्रले पार्टीको जुम बैठकमा निर्णय गर्दा किर्ते काम गरेको विभिन्न प्रमाणहरु अघि सारेका छन्। साथै मिश्रले निर्वाचन आयोगमा बुझाएको ९१ जनाको हस्ताक्षर सार्वजनिक गर्न माग गरेका छन्।

‘निर्वाचन आयोगमा मैले तपाईंमाथि तथ्यहीन आरोप लगाएको प्रसंगमा मैले माथि पनि व्याख्या गरेँ, तपाईंले बुझाएका नामहरू किर्ते छन्, फर्जी छन्। धेरै बहस आवश्यक परेन, सक्नुहुन्छ भने तपाईंले बुझाउनु भएका ९१ जनाको हस्ताक्षर आम सदस्य र नागरिकका सामु प्रस्ततु गर्नुहोस्, म हाँसी हाँसी तपाईंको निर्णय स्वीकार्छु। तर, यदि तपाईंले तपाईंसँग छ भनकै ९१ जनाको हस्ताक्षर हाम्रो सामु र निर्वाचन आयोगको सामु प्रस्तुत नगर्ने हो भने तपाईंले किर्ते गरेको हो भन्ने प्रमाणित हुन्छ’, पाण्डेले भनेका छन्।

पाण्डेले आफू विवेकशील नेपाली दलको निर्वाचित अध्यक्ष भएको बताउँदै मिश्रले भने पार्टी सुरु गरेको लगभग ५ वर्षसम्म एकपटक पनि महाधिवेशन नगरेको स्मरण गराएका छन्। ‘आफूले आफैंलाई नेता करार गरेर कति दिन नेता बन्नुहुन्छ?’, पाण्डेले प्रश्न गरेका छन्।

पाण्डेले जवाफका अतिरिक्त मिश्रलाई दश बुँदे प्रश्न पनि सोधेका छन्-
१. तपाईं संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान खारेज गर्न लागिपरेका खासगरी दक्षिणी शक्ति केन्द्रहरू र अकुत सम्पत्ति आर्जन गरेका पूर्वदरबारिया शक्तिहरूको आर्थिक तथा अन्य प्रलोभनमा परी देशको संविधानलाई खारेज गर्ने अभियानमा संलग्न हुनुभएको भन्ने चर्चा सुनिन आएको छ। त्यसको सत्यता के हो? बाह्यशक्तिबाट प्रेरित भएर यसरी सुसंस्कृत वैकल्पिक राजनीतिको नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै वैकल्पिक राजनीतिका हजारौं योगदानकर्तालाई धोका किन दिनुभयो? तपाईं जनजाति/महिला/मधेशी/दलित तथा सीमान्तकृत समुदायको दशकौंको संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत संस्थागत भएको व्यवस्थाविरुद्ध लागेको कुरा सत्य हो भने पार्टीले र राज्यका सरोकारवाला अंगहरूले तपाईंमाथि छानबिन गरी कारबाही किन अगाडि नबढाउने? पछिल्लो समयमा तपाईंले पार्टीमा रहेका गणतन्त्र पक्षधर नेताहरूमाथि ताकीताकी कारबाहीको डन्डा चलाउनु खोज्नुलाई कसरी बुझ्ने?

२. आफैंले समेत हस्ताक्षर गरेको तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच मंसिर २४, २०७७ मा सम्पन्न एकीकरणको घोषणापत्रअनुसार तपाईंले पार्टी अध्यक्षको रूपमा पार्टीको एकता घोषणा भएको ६ महिनाभित्र अधिवेशन गर्न नसके अध्यक्ष संयोजक दुवैले पार्टी नेतृत्वको रूपमा राजनीमा गरी नयाँ मान्छेको नेतृत्वमा महाधिवेशनमा जाने र महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी चलाउने कुरामा किन आनाकानी गर्नुभयो? तपाईंले लिखित रूपमा विवेकशील नेपालीसँग गरेको सम्झौताबमोजिम महाधिवेशनसम्म विवेकशील साझा पार्टीलाई प्रगतिशील, गतिशील, मध्यवामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने पार्टी र विगतका आन्दोलनका उपलब्धि बचाउने पार्टी बनाउने लिखित वाचाबाट किन के कारणले पछाडि हट्नुभयो? यही विषयमा तपाईं, म, केशव दाहालजी र रमेश पौड्यालजीबीच एकीकरणको ४ दिनअघि काठमाडौंको सिद्धार्थ कटेजमा संविधानका आधारभूत संरचना मान्ने सहमतिप्रति किन इमानदार हुन सक्नुभएन?

३. तपाईंले ९१ जनाको फर्जी सहमति छ भनेर निर्वाचन आयोगमा किन बुझाउनुभयो? त्यो किर्ते कामका निम्ति किन माफी माग्नुभएन? तपाईंले बोलाएको जुम बैठकमा किन केन्द्रीय सदस्यहरूलाई बोल्न दिनुभएन? किन जबरजस्त केन्द्रीय सदस्यहरूलाई तपाईंले लादेको विचार मान्न बाध्य बनाउनुभयो? यो आरोप होइन। हामीसँग प्रमाण छ। धेरै केही गर्नुपरेन। तपाईंले दिएकै ९१ जना केन्द्रीय सदस्यहरूको हस्ताक्षर आम नागरिक र निर्वाचन आयोगलाई बुझाउने हिम्मत र नैतिकता तपाईंसँग छ?

४. तपाईंलाई जुन एकीकरणको दस्तावेजले अध्यक्ष बनायो, त्यो दस्तावेजविपरीत मिडियाबाजी गर्ने र पार्टीलाई सिध्याउने क्रियाकलापमा लागेपछि पनि तपाईं त्यही अध्यक्ष पदमा बसिरहन मिल्छ? बीबीसीमा नैतिकताको पाठ पढाउने पत्रकार रवीन्द्र मिश्रले नेता भएपछि त्यो नैतिकता देखाउन पर्छ कि पर्दैन?

५. पार्टीमा देशको संविधान बचाउनुपर्छ भनेर लागेका हरेक तहका नेतृत्वलाई सिध्याउनुपर्छ भन्ने मानासकिताबाट गुज्रिएर स्टानिलले जस्तै एकमनावादी तरिकाले किन फरक विचार बोक्नेहरूलाई हरेक तहमा कारबाही गर्नेगरी लाग्नुभयो? आधिकारिक राजीनामा नै नदिएका महेश भण्डारीहरूजस्ता सचिवालय सदस्यलाई किन पार्टीमा राजीनामा स्वीकृत गरें भनेर पार्टीबाट निकाल्ने हर्कत गर्नुभयो?

६. तपाईंले धर्मको नाममा नागरिकलाई विभाजित गर्न धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने भनेर किन वकालत गर्नुभयो? देशलाई अफगानिस्तान/काबुल बनाउने नियतका साथ तपाईंको धार्मिक युद्ध गराउने चाहनाको भारी किन पार्टीलाई बोकाउन खोज्नुभयो?

७. तपाईंकै नेतृत्वमा दुईपटकसम्म पार्टी फुटको संघारमा पुगिसक्यो। डा. सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्याल, ओम अर्याल, स्व. संयोजक उज्ज्वल थापा, डा. सूर्यराज आचार्य, मुमाराम खनाललगायत कैयौं नेताहरूले पार्टी छोडे पनि तपाईंलाई यो पार्टीमा आफूबाहेक अरू कोही योग्य छैन भन्ने व्यक्तिवादी भूत किन चढिरहेको छ?

८. तपाईंले पटकपटक पार्टी स्थापनापछि पार्टीको महाधिवेशन गर्ने कुरा टार्दैटार्दै किन जानुभयो? के तपाईंले बीबीसी नेपालीको जागिर छोडे भन्दैमा तपाईंलाई जीवनभर नेतृत्वमा रहिरहन पर्छ भन्ने लाग्छ?

९. डा. जीवन क्षेत्रीलगायत धेरै विश्लेषकले भनेझैँ तपाईंले नियतवश विवेकशील आन्दोलनलाई पटकपटक गिजोल्न किन खोज्नुभयो? वैकल्पिक राजनीति नेपालमा उज्ज्वल थापाको नेतृत्वमा उदाउँदै गर्दा किन पटकपटक एकीकरण गर्दै पार्टी फुटाउँदै यो आन्दोलन नै सिध्याउने हर्कत गर्नुभयो? पछिल्लो समय मैले नेतृत्व गरेको विवेकशील नेपाली दलसँग एकीकरण गर्दा पनि महिनौं तपाईंकै सक्रियतामा एकीकरण भयो। पार्टीलाई कसरी अगाडि बढाउने भन्ने सहमति पत्रमा स्पष्ट उल्लेख थियो। मैले तपाईंले हस्ताक्षर गरेको कुरा विश्वास गर्नु के मेरो गल्ती हो? तपाईंले महिनौं पछि लागेर अब म सच्चिएँ भनेपछि तपाईंलाई विश्वास गर्नु के मेरो राजनीतिक जीवनकै सबैभन्दा ठूलो गल्ती हो? वैकल्पिक राजनीतिमा, सुसंस्कृत राजनीतिमा इमानदारिता रहेन भने त्यो राजनीति के काम? तर, तपाईंको गतिविधि हेर्दा तपाईंमा इमानदारिता देखिएन।

१०. तपाईंले बागमती प्रदेशबाट रञ्जु दर्शनाजी र अन्तर्राष्ट्रिय समितिबाट सुरेश भट्टजीलाई किन कारबाही गर्नुभयो? किन बर्खास्त गर्नुभयो? किनकि, उहाँहरू तपाईंको विचारसँग सहमत छैनन्, हैन? यस्तो अलोकतान्त्रिक सोचलाई मेरो भन्नु केही छैन। विनासकाले विपरीत बुद्धि।