एमाले फुट्ने र सरकार ढल्ने चर्चाबीच आचार्य र पाण्डेको शंकास्पद भारत भ्रमण - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

एमाले फुट्ने र सरकार ढल्ने चर्चाबीच आचार्य र पाण्डेको शंकास्पद भारत भ्रमण



काठमाडौं- पार्टी विभाजन हुनै लाग्दा नेकपा एमालेका पार्टीका दोस्रो तहका नेताहरू शंकास्पद रूपमा भारत भ्रमणमा गएका छन् ।वरिष्ठ नेता माधव नेपालले एमाले एकता करिव करिव सकिएको घोषणा गरेकै दिन पार्टीका दुई प्रभावशाली नेताहरू शंकास्पद रूपमा भारत भ्रमणमा गएका हुन् ।

वरिष्ठ नेता नेपाल समूहका दुई प्रभावशाली नेता दिल्ली उडेपछि राजनीतिक वृत्त तात्तिएको छ । शनिबार दिउसो नेपाल एअरलाइन्सको उडान आरए २०५१ बाट एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र भीम आचार्य ११:३० बजे दिल्ली उडेपछि राजनीतिक वृत्त तात्तिएको हो।

एकातिर माधव नेपालले यथास्थितिमा ओलीसंग एकता हुन नसक्ने घोषणा गरेका र अर्कातिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवा नेतृत्वको सरकार कुनैपनि बेला ढल्ने अवस्था रहेको बताइरहेका बेला उनीहरू भारत भ्रमण जानुलाई अर्थपूर्ण मानिएको छ।

पछिल्लो समय पाण्डे र आचार्य पार्टी एकताको पक्षमा क्रियाशील रहेको र माधव नेपालको साथ् छाडेर ओला लाइनमा लागेको आरोप लाग्ने गरेको छ। माधव नेपाल समूहभित्रै नेताहरु दुई खेमामा विभक्त भएको भनिएका बेला उनीहरू भारत भ्रमण गएकाले पनि उनीहरूको भ्रमण शंकास्पद मानिएको छ ।

एमालेको माधव समूहमा अधिकांश नेता यथास्थितिमा पार्टी एकता नहुने निचोडमा पुग्दा पाण्डे र आचार्यसहितका स्थायी कमिटीका केही नेता भने निशर्त एकता गर्नुपर्ने अडानमा थिए ।

एमालेका केहि नेताहरूले भने उनीहरू दिल्लीमा उपचाररत पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न गएको बताएका छन् । दिल्लीस्थित एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएका नेता खनाललाई भेट्न उनीहरु त्यसतर्फ गएको बताइएपनि पछिल्लो राजनीतिक अवस्थालाई हेर्दा त्यस्तो देखिंदैन ।

एकसमय ओलीसँग कुनै हालतमा एकता हुन सक्दैन भन्दै आएका नेता आचार्य पनि पछिल्लो समयमा ओलीनिकट भएको चर्चा चल्ने गरेको छ। ओलीले नेपाललाई कुनै हालतमा नस्वीकार्ने बताइरहेका छन् भने नेपालले ओलीले असंवैधानिक कदम चलेको भन्दै उनको अपराध बोक्न नसकिने बताउँदै आएका छन् ।

देउवा नेतृत्वको सरकार ढल्न सक्ने प्रचण्डको अभिव्यक्ति र एमाले विभाजन हुनसक्ने माधव नेपालको अभिव्यक्तिबीच भएको उनीहरूको भारत भ्रमणलाई भने सामान्य रूपमा हेर्न सकिन्न