पञ्चायत र राजा फालेको काँग्रेसलाई सिद्धियो भन्नु तर्कहीन :नेता सिंह - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

पञ्चायत र राजा फालेको काँग्रेसलाई सिद्धियो भन्नु तर्कहीन :नेता सिंह



डडेल्धुरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राणा, पञ्चायत र राजा फालेको काँग्रेसलाई सिद्धियो भन्नु तर्कहीन विषय भएको टिप्पणी गरेका छन् ।

सोमबार मात्रै एक कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेस सिद्धिन लागेको बताएका थिए । प्रचण्डलाई प्रकाशमान सिंहले युद्धरत माओवादीलाई समेत कांग्रेसले नै सत्तामा पुर्याएको जवाफ दिए ।

नेपाल प्रेस यूनियन डडेल्धुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘राणा, पञ्चायत र राजा सिध्याएर माओवादीलाईसमेत जंगलबाट सत्तामा पुर्याएको कांग्रेसलाई अहिले सिद्धिदैछ भनेर भन्नु बहुमतको दम्भ हो ।’

नेता सिंहले आफ्नो पार्टीले सरकारको राम्रो कामको समर्थन र गलत कार्यको विरोध गर्ने बताए । वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको उनको टिप्पणी थियो ।

देशका सबै आन्दोलन तथा विरोध प्रर्दशनका कार्यक्रम हुने माइतीघरलाई निषेधित क्षेत्र घोषण गर्नु अधिनायकवादको संकेत भएको उनको भनाई थियो ।

सिंहले विभाजित कम्युनिस्टलाई पनि कांग्रेसले नै एकजुट बनाएको बताए । ‘विभाजित तथा कमजोर अवस्थामा रहेको कम्युनिस्टलाई २०४६ सालमा स्व। गणेशमान सिंहले नै एकजुट गराएका थिए,’ उनले भने, ‘तर अहिले तिनै सत्ताधारी कम्युनिस्टबाटै राजनीतिक अस्थिरता बनाउने काम हुँदैछ ।’

नेपाली कांग्रेस नेतृत्वको सरकारले कानुनसम्मत गरेका निर्णयहरु एकाएक खारेजी गरिएको भन्दै उनले सदन, सडक र सबैतिरबाट प्रतिवाद गरिएको स्पष्ट पारे ।