पाल्पामा भिषण पहिरो: गाडीहरू पुरिए, केहि व्यक्तिको उद्धार
पाल्पा- पाल्पामा सोमबार साँझ खतरनाक दुर्घटना भएको छ । पाल्पा–गुल्मी सडकखण्डको तानसेन ११ बन्दीपोखरामा एकै स्थानमा दुई गाडी पहिरोले बगाएको बताइएको छ ।
सोमबार बेलुकीपख पहिरोले दुईवटा गाडी बगाएको बताइएको छ । पहिरोले एउटा ट्रक र एउटा ट्यांकर पुर्दा दुईजनाको मृत्यु भएको छ भने एकजनाको उद्धार गरिएको छ।
कम्तीमा दुईवटा गाडी पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अविरल वर्षासँगै आएको पहिरोले गाडी बगाएको हो।
भेटिएका गाडीहरू क्षतविक्षत अवस्थामा छन्। एउटा गाडी भीरमा अड्किएको अवस्थामा छ। गाडी भएको ठाउँमा समेत पुग्न कठिन भइरहेको छ। घटनास्थलबाट दुईजनाको शव भेटिएको छ भने एकजनालाई घाइते अवस्थामा उद्वार गरिएको छ।
अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्वारमा जुटिरहेको प्रहरीले बताएको छ । माथिबाट ढुंगासहितको पहिरो खस्ने क्रम नरोकिएकोले उद्वार कार्यमा कठिनाई भएको उनले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ।