पाल्पामा गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय, उम्मेदवार छान्न संयन्त्र बनाइयो - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

पाल्पामा गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय, उम्मेदवार छान्न संयन्त्र बनाइयो



आगामी ३० वैशाख ३०मा हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो ।

बुधबार संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ ।

त्यसको सदस्यमा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना रहेको संयन्त्रका संयोजक श्रेष्ठले बताए ।

संयन्त्रले गठबन्धन दलबीच आवश्यक छलफल, परामर्श गरी स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाउनेछ । गठबन्धनमा सहभागी दलबाट तीन/तीन जना सहभागी हुने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पाण्डेले बताए ।

स्थानीय तह र वडाबाट सङ्कलन भएका प्रतिवेदनका आधारमा जिल्लास्तरीय संयन्त्रको बैठकबाट उम्मेदवार चयन हुने राष्ट्रिय जनमोर्चाका अध्यक्ष दर्लामीले बताए । (रासस)