पाकिस्तान विश्वकप च्याम्पियन बन्ने दावी - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

पाकिस्तान विश्वकप च्याम्पियन बन्ने दावी



बर्मिङघम — ठ्याक्कै पुस्तामा परिवर्तन र २७ वर्ष पहिले, सन् १९९२ को विश्वकप । पाकिस्तानले प्रतियोगितामा खराब सुरुआत लिएको थियो । विस्तारै पाकिस्तानको खेल राम्रो हुन थाल्यो । नतिजा पाकिस्तान मेलबर्नमा भएको फाइनलमा विजेता रह्यो ।

अहिले फेरि इतिहास दोहरिने क्रममा छ । उही हार र जितको शृंखला अनि उस्तै परिस्थिति । पाकिस्तानी समर्थकलाई के लाग्न थालेको छ भने यो टिमले फेरि एकपल्ट केही आश्चर्यजनक नतिजा ल्याउन सक्छ ।
दुवै संस्करणको विश्वकपमा पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध एकपक्षीय हारसँगै प्रतियोगिता सुरु गरेको थियो । सन् १९९२ मा पाकिस्तान दोस्रो खेलमा जिम्बावेविरुद्ध विजयी रह्यो, यसपल्ट इंग्ल्यान्डविरुद्ध । दुवै प्रतियोगितामा पाकिस्तानको तेस्रो खेल वर्षाले प्रभावित रह्यो । त्यसयता दुवै अवसरमा पाकिस्तानले दुई खेल लगातार जित्यो । लगत्तै दुई खेलमा लगातार जित पनि हात पार्‍यो । त्यति मात्र होइन, लगातार दुई जितको अन्तिम सफलतामा प्रतिद्वन्द्वी टिम न्युजिल्यान्ड नै थियो । पाकिस्तानले बुधबार न्युजिल्यान्डमाथि ६ विकेटको जित पाएको थियो ।

संयोग त के भने पाकिस्तानकै हातबाट पराजित भएर दुवै अवसर १९९२ र २०१९ मा न्युजिल्यान्डको अपराजित यात्रा टुंगिएको थियो । ‘सबै लगभग उस्तै भइरहेको छ, नतिजाको क्रम र स्वभाव उस्तै,’ सन् १९९२ को विश्वकपमा पाकिस्तानका लागि खेलेका तीव्र गतिका बलर वसिम अक्रमले भने, ‘यसपल्ट न्युजिल्यान्डको संयोग पनि ठ्याक्कै मिल्न आएको छ । आस गरौं, यसपल्ट पनि नतिजा उस्तै हुनेछ । पाकिस्तान विश्वकप च्याम्पियन हुनेछ ।’

पाकिस्तानका कप्तान सरफराज अहमद भने इतिहासबाट सिक्ने तर त्यसमै निर्भर रहेर खेल्न नहुने धारणा राख्छन् । उनले भने, ‘सन् १९९२ इतिहास भइसकेको छ । यसपल्ट न्युजिल्यान्डको सामना गर्नु अगाडि पनि धेरैले मलाई यही कथा सुनाएको थियो । पाकिस्तानले यसपल्ट पनि राम्रो गर्नु छ भने मैदानमा राम्रै खेल्नु पनि पर्छ ।’ १९९२ मा पाकिस्तानले विश्वकप जित्दा इमरान खान कप्तान रहेको र अहिले उनी नै देशको प्रधानमन्त्री रहेको संयोगलाई पनि पाकिस्तानी क्रिकेट प्रशंसकले राम्रो मानिरहेका छन् ।