पाकिस्तानका १५५ सांसदले दिए सामुहिक राजीनामा, संसद् बैठक बहिष्कार - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

पाकिस्तानका १५५ सांसदले दिए सामुहिक राजीनामा, संसद् बैठक बहिष्कार



पाकिस्तानका १५५ सांसदले सोमबार एकसाथ पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदले सामूहिक राजीनामा दिएका हुन्।

नयाँ प्रधानमन्त्री चयनका लागि संसदमा मतदान हुनुअगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका हुन्।

जनताको भावनाविपरीत विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अब संसमा बस्न नसक्ने बताएका हुन्।

विदेशीको इसारामा चल्ने राष्ट्रघाती सांसद र राष्ट्रवादी आफ्नो पार्टीका सांसद संसदमा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनुपरेको उनले बताए।

उनले अब जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने दाबी गरेका छन्।

आफूले विघटन गरेको संसद अदालतले पुनःस्थापना गरिदिएपछि थप नैतिक सङ्कटमा परेका नेता खानले आफैंले भंग गरेको संसदमा फर्किनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताइएको छ।

उनको पार्टीका सबै सांसदले पदबाट राजीनामा दिएपछि बहुमतका साथ विपक्षी दलका नेता शेहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।

उनले नयाँ मन्त्रिमण्डल बनाएर सरकारलाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाकिस्तानको नयाँ सरकारलाई राजनीतिक सङ्कटसँगै आर्थिक सङ्कट पनि सामना गर्नुपर्ने अवस्था छ। रासस/एएनआई