४० ओभरको खेलमा भारतद्वारा पाकिस्तान पराजित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

४० ओभरको खेलमा भारतद्वारा पाकिस्तान पराजित



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ ।

म्यानचेस्टरमा आइतबार भएको बहुचर्चित खेलमा पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गर्दै भारतले तेस्रो जित निकालेको हो ।

ओल्ड ट्राफोर्डमा वर्षाले प्रभावित गरेको खेलमा भारतले दिएको ३ सय ३७ रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल केहि समय रोकिएको थियो ।

त्यसपछि खेल ४० ओभरमा झारिएको थियो र डीएल पद्दतिको आधारमा पाकिस्तानले ३ सय २ रनको नयाँ लक्ष्य पाएको थियो  । वर्षाले खेल रोकिनुअघि पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

३ सय २ रनको नयाँ लक्ष्य पछ्याएको पाकिस्तानले पुरै ४० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३६ रन बनाएको थियो ।

भारतका लागि ओपनर रोहित शर्माले १ सय ४० रनको शतकीय इनिङस खेले । उनले १ सय १३ बलमा १४ चौका र ३ छक्काको मदतले शतकिय ईनिङ्स खेलेका थिए ।

उनले पहिलो विकेटका लागि लोकेश राहुलसंग १ सय ३६ रनको साझेदारी गरे । अर्धशतक बनाएका राहुल ५७ रन बनाएर आउट भए ।

यस्तै कप्तान विराट कोहलीले ७७ रनको अर्धशतकीय इनिङ्स बनाए । उनले ६५ बलमा ७ चौकाको मदतले भारतीय ईनिङ्स उकासेका थिए । त्यस्तै हार्दिक पाण्ड्या २६, महेन्द्र सिंह धोनी १ रन बनाएर आउट भए । विजय शंकर १५ र केदार जादव ९ रनमा नटआउट रहे ।

पाकिस्तानका मोहमद आमिरले ३ विकेट हात पारे । १० ओभर बलिङ गरेका उनले १ मेडन सहित ३ विकेट लिन ४७ रन खर्चिए । यस्तै हसन अलि र वहाव रियाजले समान १-१ विकेट हात पारे ।