पाकिस्तानको आर्थिक सङ्कट टार्न अमेरिकामा के गर्दैछन इमरान ? - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

पाकिस्तानको आर्थिक सङ्कट टार्न अमेरिकामा के गर्दैछन इमरान ?



एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खान हाल तीनदिने अमेरिका भ्रमणमा रहेका छन्। प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिका गएका इमरान हिजो शनिबार कतार एयरवेजको कमर्सियल फ्लाइटबाट अमेरिकाको वासिङ्टन पुगेका हुन् ।
पछिल्लो समय पाकिस्तान आर्थिक संकटसँग जुधिरहेकाले पनि प्रधानमन्त्री खान देशलाई आर्थिक भार कम गर्न भन्दै चार्टर्ड विमान प्रयोग नगरी कमर्सियल फ्लाइटमा अमेरिका पुगेका छन्।
कतार एयरवेजको नियमित उडानबाट कतारको दोहा हुँदै अमेरिका जाने क्रममा दोहामा उनलाई उक्त एयरवेजका प्रमुख कार्यकारी अधिकृत अक्बर अल्बाकरले स्वागत गरेका थिए।
हिजै वाससिङ्टन पुगेका उनी त्यहाँ पाँचतारे होटलमा नबसी राजदूत निवासमा बसे। पाकिस्तानी राजदूतको निवास वासिङ्टनमा अरू कूटनीतिक नियोग र निवासले घेरिएको छ। भारत, टर्की, जापानलगायत झण्डै दर्जन देशका दूतावास उक्त क्षेत्रमा रहेका छन्।
अमेरिका जाने राष्ट्र र सरकार प्रमुखले अमेरिकी सांसद, विभिन्न अधिकारीहरू र पत्रकारलाई भेट्छन्। राजदूत निवास साँघुरो हुने भएकाले प्रधानमन्त्री खानले त्यस्ता कार्यक्रमहरू राजदूतावासमै गर्ने कार्यक्रम रहेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यकारी बोर्डले ओह्रालो लागिरहेको पाकिस्तानी अर्थतन्त्रलाई बलियो बनाउन ६ अर्ब अमेरिकी डलर सहयोग गर्ने केही दिनअघि सम्झौता गरेको छ । कोषले उक्त सहायताका लागि सरकारले कडा आर्थिक अनुशासन पालन गर्नुपर्ने शर्त राखेको छ।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री खानले आज आइतबार कोष र अर्को दातृ निकाय विश्व बैंकका प्रमुखहरूसँग भेटघाट गर्नेछन्। भोलि सोमबार खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। गतवर्ष प्रधानमन्त्री बनेका खानले शुरूदेखि आर्थिक खर्च कम गर्न विभिन्न पर्यायहरू गरिरहेका छन्। उनी प्रधानमन्त्रीको सरकारी निवासमा पनि बसेका छैनन् भने निवासका गाडीसमेत लिलामी गरिदिएका छन्। खानका तमाम प्रयत्नका बाबजुद् पनि पाकिस्तानी अर्थतन्त्रले गति लिन सकेको छैन।