पाकिस्तानले यसरी दोहोर्‍यायो पुरानो इतिहास - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

पाकिस्तानले यसरी दोहोर्‍यायो पुरानो इतिहास



एजेन्सी – बुधबार पाकिस्तानले जारी विश्वकप क्रिकेटमा अपराजित रहँदै आएको न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्‍यो। न्युजिल्याण्डलाई पराजित गर्दै पाकिस्तानले आफ्नो सेमिफाइनल यात्राको आशालाई जिवित मात्र राखेन, सन् १९९२ को क्रिकेट विश्वकपका संयोगहरूलाई समेत ताजा गरिदियो।

न्यूजिल्याण्ड र पाकिस्तान हिजो विश्वकपमा आफ्नो सातौं खेल खेल्दै थिए भने सन् १९९२ को विश्वकपमा पनि उनीहरू सातौं खेल नै खेलिरहेका थिए।

सो विश्वकपमा पाकिस्तानले पहिलो खेलमा हार बेहोर्दा त्यसपछिका खेलहरूमा क्रमशः जित, नतिजाबिहिन, हार, हार, जित र जितको सिलसिला पछ्याएको थियो भने न्यूजिल्याण्ड अपराजित रहेको थियो।

त्यतिबेला सातौं खेलमा आएर पाकिस्तानसँग न्युजिल्याण्डले पहिलो पराजय भोग्यो। हिजोको खेलमा पनि सोहि नतिजा आयो। सो विश्वकपमा पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो भने यस पटक ६ विकेटले पराजित गर्‍यो।

सन् १९९२ को विश्वकपमा पाकिस्तानले जित हासिल गर्दा रामिज राजाले अविजित शतक हानेका थिए भने हिजोको खेलमा बाबर आजमले पनि अविजित शतक बनाए।

यस्तै दुबै विश्वकप एउटै संरचनामा खेलिएका थिए। सो समय प्रत्येक ९ टोलीले सेमिफाइनल यात्राका लागि प्रत्येक टोलीसँग खेल्नुपरेको थियो भने यसपटकको विश्वकपमा सहभागी १० टोली एकअर्कासँग भिडिरहेका छन्।

त्यसैगरी सन् १९२ मा प्रयोग गरिएजस्तै यसपटकको विश्वकपमा पनि एक इनिङमा दुई वटा सेतो बलको प्रयोग गरिएको छ।

सो विश्वकपमा पाकिस्तानले आफ्नो पहिलो खेलको नतिजा वेस्ट इण्डिजलाई सुम्पिएको थियो भने यस विश्वकपको पहिलो नतिजा वेस्ट इण्डिजलाई नै सुम्पियो। त्यतिबेला १० विकेटले खेल हारेको पाकिस्तान यस पटक ७ विकेटले वेस्ट इण्डिजसँग पराजित भएको छ।

सो विश्वकपमा पाकिस्तानले खराब सुरूवात गरेपनि न्युजिल्याण्डलाई पराजित गरेपछि भने कुनै पनि खेल नहारी सो विश्वकपमा विजेता बन्यो।

सो विश्वकपमा पाकिस्तानले पहिलो पटक क्रिकेट विश्वकपको उपाधि उचालेको थियो।

अब न्युजिल्याण्डसँग इतिहासको पुनरावृत्ति गरेको पाकिस्तानले सन् १९९२ को विश्वकपको नतिजालाई यस विश्वकपमा फेरि कायम राख्दै उपाधिमै कब्जा जमाउला त?

सबैको ध्यान यसैमा छ।