८ रनले पाकिस्तानलाई धोका दिएपछि... - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

८ रनले पाकिस्तानलाई धोका दिएपछि…



एजेन्सी — न्युजिल्यान्डले एकदिवसीय विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको छ । पाकिस्तानले लिग चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशविरुद्ध आवश्यक रनरेट जुटाउन असफल भएपछि गत संस्करणको फाइनलिस्ट न्युजिल्यान्डले अन्तिम चारको यात्रा तय गरेको हो ।

सेमिफाइनलमा स्थान बनाउन सरफराज अहमद नेतृत्वको पाकिस्तानलाई बंगलादेशविरुद्ध जित अन्तरको विश्व कीर्तिमान तोड्नु जरुरी थियो । तर लर्ड्समा टस जितेपछि पर्याप्त रन बनाएर अवसरको सदुपयोग गर्न उनीहरू असफल रहे ।

३१५/९ को योगफल बनाएको पाकिस्तानलाई विश्वकपको सेमिफाइनल आशा समाप्त पार्नका लागि बंगलादेशलाई ८ रन आवश्यक थियो । उसले दोस्रो ओभरमै त्यसलाई पूरा गरिदियो । सन् १९९२ को उपाधि विजेता पाकिस्तानले शुक्रबार ९४ रनको जित हासिल गर्‍यो । न्युजिल्यान्डसँग समान ११ अंक भएपछि रनरेट टाइब्रेकका आधारमा पाकिस्तान घर फर्कनुपरेको हो ।

सेमिफाइनलमा न्युजिल्यान्डले भारत वा अस्ट्रेलियामध्ये एकसँग फाइनलमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछ । शनिबार हुने लिग चरणको अन्तिम दुई खेलमा भारत र अस्ट्रेलियाले आ–आफ्नो खेलमा जितेमा सेमिफाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्ड तथा भारत र इंन्ल्यान्ड प्रतिस्पर्धा गर्नेछन् ।

हजारौं जोसिला समर्थकमाझ पाकिस्तानले लन्डनको चर्को गर्मीमा सुस्त सुरुआत गरेको थियो । सुरुआती १० ओभरमा उनीहरूले ३८–१ को प्रदर्शन गरे । इमाम उल–हक र बाबर आजमले १ सय ४६ बलमा १ सय ५० रनको साझेदारी गरी इनिङ्स सुधार गरे । ९८ बलमा ९६ रनको सानदार इनिङ्स खेलेर बाबर आउट भए । बाबरले उत्कृष्ट प्रदर्शन गर्दै ११ चौका प्रहार गरे । इमामले अन्तिमसम्म इनिङ्सको नेतृत्व गर्ने अपेक्षा गरिएको थियो ।

तर अर्को विकेटका रूपमा इमाम आउट भए, जति बेला उनले शतक प्रहार गर्नमात्र भ्याएका थिए । ४२ ओभरमा पाकिस्तान २४६–३ को स्थितिमा पुग्यो । अर्को ओभरमा मोहम्मद हफिज पनि आउट भए । २६ बलमा ४३ रन प्रहार गरी इमाद वसिमले पाकिस्तानको आस जगाएका थिए । तर त्यो उसको आवश्यकताभन्दा अझै कम थियो । ‘जब आफ्नो टिमका लागि केही राम्रो गरिन्छ, अवश्य पनि धेरै खुसी लाग्छ । तर हामीलाई यो खेल जित्नुछ,’ इमामले स्विकारे कि पाकिस्तानले यस खेलको लागि यथार्थवादी दृष्टिकोण लिएको थियो र ४ सय स्कोरको लक्ष्य थिएन, ‘हामी यथार्थवादी हुनुपर्छ र परिस्थितिको सही आँकलन गर्नुपर्छ । उनीहरूले उत्कृष्ट र लगातार लाइनमा बलिङ गरिरहेका थिए । हामी ३ सयदेखि ३ सय २० सम्मको योजनामा थियौं ।’

शादब खानको सानदार कट एन्ड बोल्डसहित बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ५ विकेट लिए ।

पहिलो खेलमा पाकिस्तान १ सय ५ रनमै आउट भएको थियो । जहाँ वेस्ट इन्डिजले १३.४ ओभरमै जित हासिल गरेको थियो । त्यसकारण उसले नेट रनरेटमा धेरै पछि रहनुपरेको हो । पाकिस्तानले सुरुआती ५ मध्ये एकमात्र जित हासिल गरेका थिए । तर दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराएर उत्कृष्ट पुनरागमनसहित पाचौं स्थानमा उक्लियो । अन्तिम खेलमा असम्भवजस्तै लक्ष्य पूरा गर्न सकेन ।

जवाफमा सौम्य सरकारले २२ रन प्रहार गरी आउट भए । तमिम इकवाल पनि ८ रनमै आउट भएपछि बंगलादेश ४८–२ को स्थितिमा पुग्यो । मुस्फिकर रहिम १६ रन जोडेर वाहब रियाजको बलमा बोल्ड भए । सकिब अल हसन र लिट्टोन दासले चौथो विकेटमा ५८ रनको साझेदारी गरेपछि बंगलादेशले २८ ओभरमा १ सय ३६ रन जोडेको थियो । लिट्टोन ३२ रनमा आउट भए । त्यसपछि सकिब पनि ६४ रनको स्कोरमा आउट भएपछि बंगलादेशको आस सकिएको हो ।

यस विश्वकपमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका सकिबले पाँचौं अर्धशतक प्रहार गरे । उनले दुई शतक बनाए । ६ सय ६ रन जोडेका उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसी एकदिवसीय वरीयतामा शीर्षस्थानमा रहेका उनले बलिङतर्फ पनि ११ विकेट लिएका छन् ।

बंगलादेशका लागि महमुदुल्लाहले २९ र मोसादेक हुसेनले १६ रन थपे । कप्तान मासरफी मोर्टजा १५ रन बनाएर स्टम्पिङ आउट भए । बलिङमा पाकिस्तानका शहिन साह अफ्रिदीले सानदार प्रदर्शन गरी ६ विकेट लिए । उनले ९.१ ओभरमा ३५ रन खर्चिए । सादब खानले २ विकेट झारे ।

स्कोर कार्ड

पाकिस्तान
९४ रनले विजयी

पाकिस्तान
५० ओभर ३१५/९
इमाम उल हक–१००
बाबर आजम–९६
इमाद वसिम–४३

मुस्ताफिजुर रहमान ५/७५
मोहमद सैफुदिन ३/७७

बंगलादेश
४४.१ ओभर–२२१/१०
सकिव अल हसन–६४
लिट्टोन दास–३२
महमुदुल्लाह–२९

शहिन साह अफ्रिदी ६/३५
सादब खान २/५९