पाकिस्तानमा १२१ जना आतंकवादी पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पाकिस्तानमा १२१ जना आतंकवादी पक्राउ



इस्लामावाद : भारतले आत‌ंकवादलाई प्रश्रय दिएको आरोप लगाइरहेका बेला पाकिस्तानले जैस ए मोहम्मदसहितका प्रतिबन्धित सङ्गठनका १२१ जनालाई पक्राउ गरेको छ ।

केही दिनयता चलेको सर्च अप्रेशनका क्रममा पाकिस्तानी सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरी हिरासतमा लिएका हुन् । चार दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएका सङ्गठनका व्यक्तिहरु पक्राउ परेको स्थानीय उर्दु टेलिभिजन सामाले जनाएको छ ।

गृह मन्त्रालयका अधिकारीहरुका अनुसार पक्राउ परेका व्यक्तिहरु प्रतिबन्धित विभिन्न सङ्गठनमा निकै सक्रिय थिए । देशको सुरक्षा निकायले शङ्कास्पद र प्रतिबन्धित व्यक्तिहरुलाई पक्राउ गर्ने क्रमलाई तिव्रता दिएको अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानमा जमात उड डावा, फलाह ए इन्सानीट फाउन्डेसन, जैश ए मुहम्मद (जेम) लगायतलाई प्रतिबन्ध लगाइएको छ । कश्मीरस्थित पुलवामामा ४६ अर्धसैनिकको ज्यान जाने गरी भएको आत्मघाती हमलामा पाकिस्तानमा अखडा बनाएको जैश ए मोहम्मदको हात रहेको दाबी भारतले गर्दै आएको छ ।

भारतको यो दाबीबीच पाकिस्तानले कुनै पनि आतंकवादी संगठनलाई प्रश्रय नदिएको प्रष्ट पारिसकेको छ । एएफपी