पैसा र सरकारी कार्यालयमा पृथ्वीनारायण शाहको फोटो राख्न विवेकशील साझाको माग - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

पैसा र सरकारी कार्यालयमा पृथ्वीनारायण शाहको फोटो राख्न विवेकशील साझाको माग



काठमाडौं- विवेकशील साझा पार्टीले रुपैयाँको नोट मा पृथ्वीनारायण शाहको तस्वीर अङ्कित गर्न माग गरेको छ। 

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै साझाले त्यसका साथै हरेक सरकारी कार्यालयमा उनको तस्वीर राख्न निर्देशन दिन पनि माग गरेको हो। 

२७ पुसमा पृथ्वीनारायण शाहको जन्म जयन्ती हो। नेपाल एकीकरणको नेतृत्व गरेका कारण उक्त दिन राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक बिदा दिन पनि विवेकशील साझाले माग गरेको छ।

“संसारका अधिकांश देशमा निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरिन्छ, जुन स्थायी हुन्छ,” विज्ञप्तिमा भनिएको छ, “नेपालको हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो।”

संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित नहुने हुँदा तिनै सामान्य विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त नहुने साझाको भनाइ छ। 

शाहको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र समृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक रहेको साझाको भनाइ छ।

अनावश्यक रूपमा अनेकौँ बिदा दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु खेदजनक भएको साझाले जनाएको छ। 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर विवेकशील साझा पार्टीले २७ पुसदेखि ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ गर्दैछ। उक्त यात्रा १६ माघ, शहीद दिवसका दिन सकिने छ।