कपाल खौरिएर भाइरल व्यक्तिले पैसा लिएर भिडियो बनाएको खुलासा
काठमाडौं । बनारसमा एक नेपालीमाथि कपाल खौरिएर ‘ज्यादती’ गरेको भनी भाइरल भिडियोमा देखिएका ब्यक्ति भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा भारतको बनारसमा एउटा धार्मिक समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित ‘नेपाली युवक’ भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडियो बनाउन सहमति दिएको भारतीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा विश्व हिन्दू सेना नामक सङ्गठनका कार्यकर्ताहरूले नेपालीका रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ।
उक्त घटनाको भिडिओ खिची बिहीवार सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा प्रहरीले शुक्रवार चार जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई शनिवार अदालतमा पेस गरिएको छ भने शनिवार थप दुई जना पक्राउ परेका छन् ।
बनारसमा बस्ने नेपालीका रुपमा चिनाइएका भिडियोमा देखिएका ती व्यक्तिको जन्म बनारसमै भएको र उनी त्यहीँका बासिन्दा भएको बनारसका प्रहरी एसपी अमित पाठकले बताएका छन् ।
प्रहरीका अनुसार उनले उजुरी दिएका छैनन्, उनलाई फेला पार्न वा सम्पर्क गर्न सकिएको खण्डमा थप परिचय खुल्ने जनाइएको छ । तर प्रहरीलाई प्राप्त जानकारी अनुसार ती ब्यक्ति बनारसमै रहेको जल संस्थानको कोलोनीमा बस्ने गरेका छन् ।
प्रहरीका अनुसार ती व्यक्तिका आमा र बुवा भारत सरकारका कर्मचारी थिए र उनका भाइ अहिले पनि जलसंस्थानमा कार्यरत छन् । उनी बनारसमै सूचीकृत भएका मतदाता हुन् र उनीसँग आधार कार्ड पनि छ। उनको जन्म यहीँ वाराणसीमा भएको एसपी पाठकले बीबीसीसँग भनेका छन् ।
बनारस प्रहरीका अनुसार उक्त आपत्तिजनक भिडिओ बनाउने व्यक्तिहरूसँग ती व्यक्तिको पूर्वपरिचय भएको देखिएको छ।
एसपी पाठका अनुसार पैसा लिएर उनीहरूले अह्राएअनुसार गर्न स्वीकारेका थिए । ‘ती व्यक्तिहरुले भनेकाले आफू उनीहरूसँग गएको र भिडिओ बनाएबापत एक हजार रुपैयाँ लिएको उनले बताएका छन’ एसपी पाठकले भने।
यसअघि बनारसमा बस्ने नेपाली समुदायका अगुवाहरूले पनि ती व्यक्तिको हुन् भनेर सोधखोज गरेका थिए । यता, बनारस प्रहरीले घटनामा संलग्न सबैलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।