बाली स्याहारेपछि मात्रै आउने भयो बंगलादेशबाट पैँचो मल - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

बाली स्याहारेपछि मात्रै आउने भयो बंगलादेशबाट पैँचो मल



काठमाडौं- धान रोप्ने र गोड्ने बेलामा ल्याउनुपर्ने रासायनिक मल सरकारको कमजोरीका कारण धान पाकेपछि मात्र आइपुग्ने भएको छ।

धानका लागि ५० हजार मेट्रिक टन युरिया मल ल्याउने जिम्मा पाएका दुई कम्पनीले काम नगरेपछि सरकारले तिनीहरूसँगको सम्झौता तोडेर बंगलादेशबाट सापटी ल्याउने निर्णय गरेको थियो।

बंगलादेशसँग सापटी मागिएको ५० हजार मेट्रिक टन युरिया मल पनि प्रक्रियागत झन्झट र ढिलासुस्तीले कात्तिक–मंसिरमा मात्र आइपुग्ने खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्।

त्यो मल गहुँलगायत हिउँदे तरकारी बालीमा मात्र प्रयोग गर्न सकिने कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले बताए। ‘ठेकेदारले सम्झौताअनुसार मल नल्याएपछि धान गोड्ने बेला उपलब्ध गराउन सकेनौं,’ भण्डारीले भने, ‘बंगलादेशबाट ल्याइने पैंचो मल अब गहुँका लागि प्रयोग हुन्छ।’

धान रोप्ने बेला पनि उपलब्ध गराउन नसकेको रासायनिक मल गोड्ने बेला पनि उपलब्ध गराउन नसक्दा सरकारको चौतर्फी आलोचना भएको थियो।

त्यसपछि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको आग्रहमा गत भदौको दोस्रो साता प्रधानमन्त्री केपी ओलीले बंगलादेशकी प्रधानमन्त्री सेख हसिनासँग मल पैंचो दिन आग्रह गरेका थिए। आग्रह स्विकार्दै बंगलादेशकी प्रधानमन्त्रीले उपलब्ध गराउने बताए पनि त्यो मल कात्तिक–मंसिरमा मात्र आइपुग्ने जनाइएको छ।

किसानले धान रोप्दा र गोडमेल गर्दा पनि रासायनिक मल पाउन नसकेको राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीले बताए।

‘धान गोड्ने बेला हाहाकार भएपछि बंगलादेशबाट पैंचो मल ल्याउने भनियो,’ अधिकारीले भने, ‘धानमा राख्नुपर्ने मल गहुँ बालीका लागि ल्याएर के अर्थ भयो रु’ धानका लागि मल दिन नसकेपछि पैंचो ल्याएर दिने भनेर किसानमा भ्रम फैलाइएको उनले बताए। अभावकै बीच साल्ट ट्रेडिङ कर्पोरेसनले ३२ हजार ५ सय मेट्रिक टन मल ल्याएपछि किसानलाई केही राहत मिलेको थियो। तर त्यो पर्याप्त भने थिएन।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार बंगलादेशले चटगाउँ बन्दरगाहबाट ५० हजार टन युरिया मल दिन सहमति जनाएको छ।