किन लाग्यो ओलीलाई पहिलो गाँसमै ढुंगा - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

किन लाग्यो ओलीलाई पहिलो गाँसमै ढुंगा



अन्नपूर्ण पोस्ट

काठमाडौं – माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नटुंगिएसम्म सरकारमा सहभागी नहुने संकेत गरेको छ।तत्कालका लागि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकारबाहिरै रहने नीति अँगाल्ने संकेत माओवादीले गरेको छ।

जनताको बहुदलीय जनवाद (जबज) मा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान पार्टी नेतालाई ब्रिफिङ गर्दै बताएका थिए। दाहालले एकतासहितको समग्र प्याकेज नटुंगिएसम्म गठबन्धन सरकारलाई समर्थन जनाउने तर सरकारमा सहभागितालाई प्राथमिकता नदिने बताएका कारण सरकारमा उसको सहभागिता अन्योलमा परेको छ।

त्यही कारण माओवादीले ओलीलाई प्रधानमन्त्रीको दाबी प्रस्तुत गराउँदा समर्थन दिए पनि सरकारमा भने सहभागिता जनाएन। ओलीले पहिलो चरणमा मन्त्रिपरिषद् गठन गर्दा माओवादीका दुई जना नेता सिफारिस गर्न दाहाललाई आग्रह गरेका थिए।

ओलीले पहिलो चरणमा एमालेका तर्फबाट आफूसहित तीन र माओवादीका दुई गरी पाँच सदस्यीय मन्त्रिपरिषद् बनाउने योजना बनाएका थिए। तर, माओवादीले तत्काललाई सरकारबाहिरैबाट समर्थन गर्ने सूचना पठाएपछि ओलीले एमालेका दुई नेतालाई मात्रै मन्त्री बनाए।

‘पार्टी एकता नभएसम्म सरकारमा सहभागी हुने विषयमा छलफल बाँकी छ, हामीले पहिल्यैदेखि सरकारभन्दा पहिले पार्टी एकतामा जोड दिँदै आएका थियौं, अहिले पनि अडान त्यही नै छ,’ माओवादी नेता देव गुरुङले अन्नपूर्णसँग भने, ‘एकताको छलफल जारी रहेकाले सरकारमा अहिल्यै सहभागिता जनाएनौं।’