पहिलो कार्यपालिका बैठकमै जनप्रतिनिधिले गरे बालेनलाई घेराबन्दी - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

पहिलो कार्यपालिका बैठकमै जनप्रतिनिधिले गरे बालेनलाई घेराबन्दी



काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकमै जनप्रतिनिधिहरूले मेयर बालेन शाहलाई घेराबन्दी गरेका छन् । घेराबन्दीसँगै तनावबीच कार्यपालिका बैठक सकिएको छ।

महानगरपालिकाका प्रमुख र उपप्रमुखसहितका जनप्रतिनिधिले शपथ लिएर पदभार ग्रहण गरेपछि बसेको कार्यपालिका बैठकमा वडाअध्यक्षहरूले कार्यकारी अधिकृत लोकनाथ पौडेललाई घेरेका थिए।

बैठकको अन्तिममा मेयर बालेन साहको तर्फबाट भन्दै पौडेलले निर्णय नै सुनाउन थालेपछि काठमाडौं वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालसहितका जनप्रतिनिधि आक्रोशित भएका थिए।

पौडेलले काठमाडौंको सरसफाइसहित, कर्मचारीको विदा र अन्य निर्णय सुनाउन थालेपछि वडाअध्यक्ष रिजालले उनलाई रोक्दै छलफलै नभएको भनेर आपत्ति जनाएका थिए।

कांग्रेसबाट विजयी रिजाल प्रस्ताव गर्ने, निर्णय लेख्ने र पास गर्ने पनि आफूहरुले सिकाउनुपर्ने भन्दै घेराबन्दी गरेपछि पौडेल पछि हटेर माइक साहलाई थमाएका थिए।

पहिलो कार्यपालिका बैठकमै वडाअध्यक्षहरूले मेयर साह र कार्यकारी अधिकृत पौडेललाई घेराबन्दी गरेका हुन्।

पौडेलले बैठकको वातावरण बिगार्ने अवस्थामा पुगेपछि मेयर साहले त्यसलाई सम्हाल्दै सर्वसम्मत हुन सक्ने प्रस्ताव मात्रै आफूले अघि सारेर समर्थन गर्न आग्रह गरेका थिए।

त्यसपछि वडाअध्यक्षहरूले पनि अबदेखि यस्तो गल्ती नगर्न चेतावनी दिँदै साहले गरेका प्रस्तावमा समर्थन जनाएका थिए।
वडाअध्यक्षहरूले लिखित निर्णय गर्ने कुरामा छलफल गर्ने परिपाटी बसाउन पनि साहलाई सुझाए। वडाअध्यक्षहरूले विरोध जनाएपछि कार्यकारी अधिकृत पौडेल मौन भएका थिए।

पहिलो कार्यपालिका बैठकले विविधसहित ६ वटा निर्णय सर्वसम्मत पास गरेको छ।