एमाले स्याङ्जा अधिवेशनमा पद्माको हस्तक्षेप : गैह्रेलाई हटाएर मरासिनीलाई अध्यक्ष बनाउने तयारी - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

एमाले स्याङ्जा अधिवेशनमा पद्माको हस्तक्षेप : गैह्रेलाई हटाएर मरासिनीलाई अध्यक्ष बनाउने तयारी



नेकपा एमालेकी नेतृ पदमा अर्यालले स्याङ्जा जिल्ला अधिवेशनलाई प्रभावित पार्ने गरी चलखेल गरेकी छन् । आठौँ जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व चुनिने प्रक्रियामा हस्तक्षेप गर्दै यसअघि अध्यक्ष रहेका सूर्य शर्मा गैह्रे पारसलाई हटाएर नारायण मरासिनी या कृष्ण खाणमध्ये कुनै एकलाई अध्यक्ष बनाउने गरी उनले हस्तक्षेप गरेकी हुन् ।

नेकपा विभाजन हुँदा माओवादीबाट एमालेतिर लागेका रामबहादुर थापा ‘बादल’को कोटामा अध्यक्ष बनेका गैह्रेलाई हटाएर साविक एमालेकै मध्ये कसैलाई अध्यक्ष बनाउने तयारी अर्यालले गरेको गैह्रेनिकट स्रोतले बतायो ।

स्याङ्जाको आठौं जिल्ला अधिवेशनको बन्द सत्र आजदेखि सुरु हुदैछ । अधिवेशनले ५ पदाधिकारीसहित १ सय ५ जिल्ला कार्यसमिति चयन गर्नेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उपसचिव निर्वाचित गर्नेछ ।

अधिवेशनमा अध्यक्ष पदका लागि हालका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) र नारायण प्रसाद मरासिनीबीच चुनाव हुने चर्चा चलेको छ । चुनाव भएमा एमाले कार्यकर्ताले साविक एमालेकै मरासिनीलाई मत दिने निश्चित भएको छ ।

अर्यालले दिएको प्रलोभनकै कारण गैह्रे एमालेतिर लागेका थिए । गैह्रेलाई त्यतिबेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यसमेत बनाएका थिए । तर पछि एमाले ब्युँतिएपछि ओलीले बनाएको केन्द्रीय समिति निर्वाचन आयोगले खारेज गरेको थियो ।

यद्यपि खाण पनि अध्यक्षमा दाबी पेश गरिरहेका छन् । खाणलाई अन्य नेताहरुले मनाउन खोजेका छन् तर अर्यालले मरासिनीलाई अध्यक्ष बनाउने प्रयोजनकै लागि चुनाव गराउने वातावरण सिर्जना गर्न खोजेकी हुन् ।

‘सहमति हुने अवस्थामा गैह्रेको अध्यक्ष पद कायम रहिरहने थियो,’ गैह्रेनिकट स्रोतले भन्यो, ‘तर हामीले नेता मानेकै पदमा अर्यालले सहमतिको साट्टो चुनाव गराउने तयारी गर्नुभएको छ । पार्टी एकताको स्पिरिटविपरित भएमा हामी एमालेमै रहने कि नरहने भन्ने सोच्न बाध्य हुनुपर्छ ।’

जिल्ला ईन्चार्ज सीता सुन्दासले मरासिनीलाई सहयोग गरिरहेकी छन् भने मरासिनीको पक्षमा पुण्य भुसाल,राम बहादुर थापा, पुण्य अर्याल,भुपराज अधिकारी, विश्व पौडेल लगायतको टीम रहेको छ ।